हावाहुरीबाट मकैबालीमा ठूलो क्षति

संखुवासभाको विभिन्न स्थानमा हावाहुरीले मकैबालीमा ठूलो क्षति पुर्‍याएको छ । जिल्लाको मादी नगरपालिका, सभापोखरी गाउँपालिका र मकालु गाउँपालिकाका विभिन्न क्षेत्रमा हावाहुरीले मकैबालीमा क्षति पुर्‍याएको हो ।

घोगा लाग्न थालेको मकैबालीमा एक्कासि आएको ठूलो हावाहुरी र असिनापानीले क्षति पुऱ्याएको किसानले बताएका छन् । बुधबार र बिहीबार राति आएको हावाहुरीले मादी नगरपालिकाको विभिन्न भागको मकैबालीमा ठूलो क्षति पुर्‍याएको स्थानीय किसान मदन दाहालले जानकारी दिए ।

सभापोखरी गाउँपालिकाको वडा नम्बर १, २ र ३ को मकैबालीमा पनि हावाहुरीले ठूलो क्षति पुर्‍याएको छ । त्यस्तै जिल्लाको उत्तरी क्षेत्र मकालु गाउँपालिकाको माङ्सिमा, पावाखोला र बैदेलगायतका क्षेत्रमा हावाहुरी र असिनापानीले मकैबालीका साथै अलैँचीको पात र बोटमा समेत क्षति पुर्‍याएको स्थानीय वसन्त गुरुङले बताए ।

जिल्लाको विभिन्न स्थानका मकैबाली अमेरिकी फौजी किराले सखाप पारिरहेको वेला हावाहुरीले ढालेपछि किसानमा चिन्ता थपिएको छ । जिल्लाको १२ हजार ६३ हेक्टर क्षेत्रफलमा मकैखेती हुने गरेको कृषि ज्ञान केन्द्र संखुवासभाले जनाएको छ । पछिल्लो समय उन्नत जातका बिउविजनका कारण जिल्लामा मकैबालीप्रति किसानको आकर्षण बढ्दै गएको छ । नयपत्रिकामा खबर छ।

नवीन गुरुङ्ग

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments