लिची बिक्री नहुँदा मोरङका किसान र व्यापारी मर्कामा

बोटमै पाकेर लिची रातै हुँदा पनि खरिद गर्न ठूला व्यापारी नआउँदा कुहिएर जाने अवस्था आएको सुन्दरहरैँचाका किसान रोहित राईले बताए। ‘लिची पाकेर सड्ने वेला भइसक्यो, तर बिक्री भएको छैन,’ राईले भने, ‘२४सै घन्टा रुँघेर बगैँचाको लिची जोगाउँदै आएका छौँ।’

सुन्दरहरैँचाका सबै किसानको हालत राईको जस्तै छ। सबै किसानले बगैँचामै वास बसेर लिची चोरी हुनबाट जोगाउँदै आएका छन्। तर, बिक्री हुने–नहुने ठेगान छैन।

दुई साता अघिदेखि नै पाकेर तयार भएको लिची अझै बिक्री नभएको राईले बताए। यस वर्ष गत वर्षभन्दा मोरङमा लिचीको उत्पादन राम्रो छ। ‘फलेर मात्रै के गर्नु, किन्न कोही आउँदैनन्,’ लिची बगैँचामा भेटिएका सुन्दरहरैँचाका सुवराज सुन्दासले भने, ‘लिची चोरी हुने डरले बगैँचामै रात बिताउने गरेको छु।’

गाउँगाँउमा डुलाएर बेच्नसमेत लकडाउनको कारण सम्भव नभएको अर्का किसान हिरा तामाङले बताए।

मोरङका किसानले उत्पादन गरेको लिची स्थानीय बजारसँगै काठमाडौं, पोखरालगायतका ठूला सहरबजारमा जाने गरेको थियो। तर, यस वर्ष लकडाउनको कारण लिची बिक्री नहुँदा किसानलाई घर–व्यवहार चलाउनसमेत समस्या हुने अवस्था सिर्जना भएको छ।

सामान्यतया जेठको पहिलो सातादेखि पाकेर तयार हुने लिची जेठको तेस्रो सातासम्म रहने गर्छ। तर, यस वर्ष वेलावेलामा पानी परिरहेकाले धेरै गर्मी नहुँदा जेठको अन्तिमसम्म पनि लिची रहने कृषि प्राविधिकहरूको भनाइ छ। यो समाचार आजको नयापत्रिकामा छ।
उत्तम पोख्रेल

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments