अलैँची गोदाममै थन्कियो मारमा किसान

भोजपुर : भोजपुर पोखरेका बखतबहादुर श्रेष्ठले १४ रोपनीमा अलैँची लगाउँछन्। बगानबाट वार्षिक ८ मनसम्म अलैँची फलाउँछन्। करिब ४ वर्षअघि प्रतिमन एक लाख १० हजारसम्म अलैँची बिकेपछि एकाएक खेती बढाए। लगानी र श्रम पनि त्यति नै लगाए। तर, एकाएक मूल्यमा भारी गिरावट आएपछि उनी निराश बने। त्यसमाथि लकडाउनले अलैँची ढुवानी गर्ने नै नआएपछि राम्रो मूल्यको आशामा बिक्री गर्न राखेको गत वर्ष अलैँची गोदाममै थन्क्याएका छन्। लकडाउन खुल्ने कुनै छाँटकाँट नदेखिएपछि कुहिएर खेर जान्छ कि भन्नेमा उनी पिरोलिएका छन्।

‘पोहोरसालको त्यत्रो अलैँची छ, लकडाउनले त्यत्तिकै थन्क्याउनुपरेको छ, लकडाउनमा को दाम लगाउन आउलान् र?’ उनले प्रश्न गरे, ‘राम्रै मूल्य पाउला भनि लगानी र परिश्रमले फलाइयो, लकडाउनले त्यो पनि बेच्न दिएन, यसपाली खर्च धान्नै मुस्किल हुने भो’ लम्बिएको लकडाउनका कारण अलैँची बिक्री नभएपछि किसान र व्यवसायी मारमा छन्। निरन्तर भाउमा भारी गिरावट भइरहेका बेला बन्दले अलैँची ढुवानी रोकिएपछि व्यापार चौपट भएको छ। लगानीसम्म उठाउन नसकिएपछि अलैँचीले उनीहरूलाई निराश तुल्याएको छ।

खस्किँदो अलैँचीको मूल्यको सास्ती खेपिरहेका कतिपय किसानलाई लकडाउनले यो वर्ष परिवार धान्नै पिरलो भएको छ। भोजपुर नगरपालिका १० का प्रेमकुमार राईले छिमेकीबाट लिएको ऋणले धानखेत मासेर अलैँचीमा लगानी गरेपछि ऋण तिर्नै सकस भएको सुनाए। उनले भने, ‘यो वर्ष घरपरिवार धान्नै मुस्किल छ, ऋण कसरी तिर्नु, लकडाउनले अलैँची लिन आउने व्यापारी पनि पसेका छैनन्, फलाएको अलैँची त्यसै थन्क्याएको छु’

बर्सेनि अलैँचीको मूल्यमा आएको भारी गिरावटले हैरानी खेपेका किसान तथा व्यापारीलाई लम्बिएको लकडाउनले झन चिन्ता थपिदिएको छ। उचित मूल्य कुर्दै संकलन गरेको ३० मन अलैँची लकडाउनका कारण गोदाममै थन्क्याएको भोजपुर नगरपालिका ८, पोखेरका अलैँची व्यावसायी नविन प्रधान सुनाउँछन्। ‘गाउँगाउँबाट ३० हजार प्रतिमनले अलैँची थुपारियो, लकडाउनले ढुवानी गर्न नपाएपछि गोदाममै थन्क्याउनुपरेको छ’ उनले भने।

अन्तर्राष्ट्रिय बजारमै अलैँचीको भाउमा दररेट घटेकाले मार खेपिरहेका किसानलाई अलैँची खेती काउसो बनेको छ। केही वर्षअघि अलैँचीको मूल्य आकाशिएपछि अर्का भैँसीपंखा जिमिगाउँका दुर्ज राईले पनि १९ रोपनीमा अलैँची लगाए। तर, भारी गिरावटमा पनि दुःखले फलाएको अलैँची प्रतिमन २० हजारमा बेच्दा लगानी समेत उठाउन समस्या भएको राईले गुनासो गरे। ‘ज्यालादारी खेताला, इन्धन, अन्य सामग्रीको हिसाब गर्दा प्रतिमन १५ हजार जति खर्च हुन्छ, आम्दानीले निमेक पनि उठ्दैन’ उनले भने, ‘एकातिर भाउ छैन अर्कोतिर यो लकडाउनले राखेको अलैँची पनि बिक्री नहुने भो, लगानी पनि नउठ्ने भो’ जिल्ला कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लाको करिब तीन सय ६० हेक्टरमा रामसई, गोलसई र डम्बरसई जातका अलैँची खेती गरिँदै आएको छ।

नेपालभरिकै उत्पादित अलैँची झापामा प्रशोधन गरेर भारत निर्यात हुन्छ। प्रशोधित क्षेत्रमा अलैँचीको ग्रेडिङ, कटिङमा छुट गरिएको छ। कोरोना संक्रमण जोखिम बढेसँगै भारतीय बजारमा अलैँचीको कारोबार र ढुवानी ठप्प भएपछि नेपाल अलैँची उत्पादक तथा व्यवसाय महासंघले अर्को निर्णय नआएसम्म अलैँची प्रशोधनका सम्पूर्ण काम रोक लगाउने निर्णय गरेको छ। लकडाउनले ४६ प्रतिशत अलैँची किसान र व्यापारीसँगै छ। नेपालमा उत्पादित अलैँची भारतका विभिन्न ठूला सहर हुँदै छिमेकी जिल्ला पाकिस्तानलगायत अन्य देशमा मसला र औषधिको रूपमा निर्यात हुने गरेको छ। अन्नपुर्णपोस्टमा खबर छ।

प्रदीपचन्द्र राई

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments