कृषि मन्त्रालयले भन्योः ‘स्वदेशी कृषि उपज नष्ट गर्ने शृङ्खलाबद्ध हर्कत भए, दुःखी छौं’

दुःख गरेर उब्जाएका तरकारी दुई रुपैयाँ किलोमा पनि बिक्री हुन छाडेपछि किसानहरू आफ्नो उत्पादनमाथि ट्याक्टर चलाएर नष्ट गर्न थालेका छन् । चितवन, काभ्रे, कपिलवस्तु र रुपन्देहीको कृषकहरू उत्पादित तरकारी नबिकेर रोइकराई गरिरहेका बेला अर्घाखाँची र कास्की जिल्लामा भने स्थानीय तह र जिल्ला प्रशासनकै संलग्नतामा हरियो तरकारी तथा फलफूलहरू नष्ट गर्ने अभियान चलाइएको छ।

अर्घाखाँचीको सन्धिखर्कमा आइतबार एक ट्रक हरियो तरकारी नष्ट गरियो । कपिलवस्तुको बुद्धभूमिबाट बिक्रीको लागि लगिएको हरियो तरकारी जिल्ला प्रशासन कार्यालयले बिक्री गर्न रोक लगाएपछि नष्ट गरिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोरोनालाई कारण देखाउँदै स्वदेशमा उत्पादित कृषि उपज नष्ट गर्न स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरू लागेको भन्दै दुःख व्यक्त गरेको छ । कृषि सामग्री, उत्पादनलाई कुनै खाले अवरोध नगर्ने मन्त्रालयले पटक पटक आग्रह गरे पनि अटेर गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरिबहादुर केसीले बताएका छन् ।

‘स्वदेशी कृषि उपज नष्ट गर्न लकडाउनको सुरुवातदेखि नै शृङ्खलाबद्ध हर्कत भएका छन्, यस्ता गतिविधि रोक्नका लागि हामीले पटक पटक भन्यौं, तर कसैले सुन्दैन,’ प्रवक्ता केसीले भनेका छन् ।

कृषि उपजमाथिको आक्रमण रोक्न जिल्ला प्रशासनलाई गृह मन्त्रालयबाट र स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयबाट लिखित पत्र पठाइएको मन्त्रालयले जनाएको छ । कृषकको गतिविधिलाई सहजीकरण गरिदिन कृषिमन्त्री घनश्याम भुसालले गृह र सामान्य प्रशासन मन्त्रीलाई पटक पटक आग्रह गरेको तर नतिजा नदेखिएको मन्त्रालयले जनाएको छ ।

सोमबार सचिव राजेन्द्र प्रसाद भारीले विज्ञप्ती नै प्रकाशित गरेका छन् । विज्ञप्तीमा भनिएको छ –अन्यत्र जिल्लामा उत्पादित वस्तुहरुको ढुवानी र विक्री वितरण गर्न नदिई जफत गरी नष्ट गरिएको भन्ने समाचारहरु प्रकाशन भएको सन्दर्भमा यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । यस्ता कार्यहरुले कृषकहरुको उपज खेर जाने मात्र नभई कृषकहरुको मनोबल खस्कने, उत्पादन घट्ने र पुनः आयात कै भर पर्नुपर्ने अवस्था सिर्जना गराउँदछ । तसर्थ यसता कार्यहरु कहिँकतैबाट हुन नदिन र कृषकका उत्पादनहरु सहज रुपमा ढुवानी र विक्री वितरण हुने व्यवस्था मिलाउनुहुन सम्बद्ध सबैलाई यस मन्त्रालय पुनः अनुरोध गर्दछ ।

कास्कीको पोखरा १५ र पोखरा ३३, र अर्घाखाँचीको सन्धिखर्कमा हरियो तरकारी नष्ट गरिएको समाचार र भिडियो भाइरल बनेको छ ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments