संखुवासभामा अमेरिकन फौजी किराले मकै बाली नष्ट

संखुवासभाका विभिन्न ठाउँमा लगाइएको मकै बालीमा अमेरिकन फौजी किराको प्रकोप बढेपछि कृषक चिन्तित भएका छन् । कहिल्यै नामै नसुनेको र नदेखेको किराले मकैका सबै पात र गुभो खाएपछि कृषक चिन्तित भएका हुन् । एक महिनाअगाडिदेखि मकै खान थालेपछि कसरी मकै जोगाउने भन्ने चिन्तामा परेको उनीहरूको भनाइ छ ।

फौजी किराले अहिले खाँदबारी नगरपालिकामा मात्रै नभएर जिल्लाभित्रका धेरै ठाउँहरूमा सताएको छ । अमेरिकन फौजी किराले बारीको सबै मकै बाली सखाप बनाएपछि कीटनाशक औषधि र परामर्शका लागि कृषि ज्ञानकेन्द्रको कार्यालयमा आएको खाँदबारी नगरपालिका–९ तुम्लिङटारका कृषक इन्द्रबहादुर मगरले बताए ।

१० वटा स्थानीय तह रहेको संखुवासभा जिल्लामा ९ वटा स्थानीय तहमा अमेरिकन फौजी किराको प्रकोप देखिएको हो । जिल्लाको खाँदबारी, चैनपुर, पाँचखपन, धर्मदेवी र मादी नगरपालिका गरी पाँचवटा नगरपालिका र सभापोखरी, सिलिचोङ, चिचिला र मकालु गाउँपालिकामा यो प्रकोप देखिएको कृषि ज्ञानकेन्द्र खाँदबारीका प्रमुख गोविन्दप्रसाद आचार्यले बताए ।

मकै बालीमा फौजी किरा देखिएपछि जिल्लाका विभिन्न ठाउँका किसानबाट खबर आइरहेको र कृषि ज्ञानकेन्द्रबाट प्राविधिक पठाएर विषादी छर्किने र परामर्श दिने काम भइरहेको कृषि ज्ञानकेन्द्र प्रमुख आचार्यको भनाइ छ । संखुवासभामा १२ हजार ६३ हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ । पछिल्लो समय उन्नत जातका बिउबिजनका कारण उत्पादन बढेर औसतमा १.२७ मेट्रिकटन उत्पादन हुने गरेको कृषि ज्ञानकेन्द्र संखुवासभाको तथ्यांकमा उल्लेख छ ।

जिल्लाको तथ्यांकअनुसार अहिलेसम्म ३ हजार हेक्टर मकै बाली संक्रमित भइसकेको छ भने ७ सय ५० हेक्टर मकै बाली नष्ट भइसकेको छ । अहिलेसम्म ६६ हेक्टर मकै बालीमा लागेका किरा नियन्त्रणमा आएको कार्यालयले जनाएको छ । यो समाचार आजको नयपत्रिका मा छ।

हेरौ :
के हो फौजी किरा ? पहिचान र रोकथामको उपाय

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments