फोहरबाट मल बनाउँदै राप्ती नगरपालिका

चितवन: पूर्वी चितवनमा रहेको राप्ती नगरपालिकामा फोहर सङ्कलन गरेर मल उत्पादन गरिने भएको छ । मल उत्पादनका लागि आवश्यक संरचना बनिसकेको छ । लकडाउन खुलेसँगै फोहर सङ्कलन थालिनेछ । नगरपालिका प्रमुख प्रभा बरालले राप्ती नगरपालिका–२ मा स्थानीय शिवशक्ति सामुदायिक वनसँग सहकार्य गरेर काम शुरु गरेको जानकारी दिनुभयो । वाग्मती प्रदेश र नगरपालिकाको करिब रु एक करोड लगानीमा जापानिज प्रविधिबाट रिकिसी नामक संस्थाको प्राविधिक सहयोगमा मल उत्पादन गर्न लागिएको हो ।

सो क्षेत्रमा टहरा निर्माण गरी तीनै टहराभित्र फोहरबाट मल तयार गरिएको छ । सो स्थलमा संरचना निर्माण गरी परीक्षणका रुपमा मल उत्पादन थालिएको छ । वितरणका लागि बाल्टीसमेत खरिद गरिसकिएको छ । फोहर सङ्कलनका लागि ट्र्याक्टर खरिद गर्ने प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो । हरेक घरमा तीनवटा बाल्टी वितरण गरिनेछ । कुहिने, नकुहिने र बेच्न मिल्ने फोहर छुट्याएर मल उत्पादन गरिनेछ ।

मल नहुने फोहर बिक्री गरिनेछ । मल उत्पादनका लागि २५ जना कर्मचारीले तालिम लिइसकेको बरालको भनाइ छ । त्यहाँबाट उत्पादित प्राङ्गारिक मललाई कृषकलाई अनुदानका रुपमा वितरण गरिने उहाँले जानकारी दिनुभयो । नगरपालिकाको शहरी क्षेत्रमा धेरै फोहर जम्मा हुने गर्छ । पछिल्लो समय बनेको नगरपालिका भएकाले शुरुदेखि नै फोहर व्यवस्थित गर्नका लागि मल उत्पादन गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।(रासस)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments