साठी हजार घाँस तथा फलफूलका बिरुवा वितरण

वृक्षरोपण

तनहुँ: डिभिजन वन कार्यालय तनहुँले आफूले उत्पादन गरेका विभिन्न जातका ६० हजार बिरुवा निःशुल्क वितरण गरेको छ । बन्दाबन्दीका समयमा फुर्सद भएकाले बिरुवा रोप्न सर्वसाधारण आउन थालेपछि तयारी भएका बिरुवा वितरण गर्न थालिएको कार्यालयले जनाएको छ ।

यस वर्ष दश लाख बिरुवा उत्पादन भएको र तयारी अवस्थाका केही दिनदेखि वितरण गर्न शुरु गरिएको वन कार्यालयका सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार नर्सरीमा बहडर, टाँकी, इपिल इपिल, म्यान्डोला, चाँप, तेजपात, नारेश्वर, निम, रुख कटहर, अम्बालगायत तीस जातभन्दा बढी घाँस तथा फलफूलका बिरुवा उत्पादन गरिएको छ । कार्यालयले परिसरको नर्सरीमा दुई लाख २५ हजार बिरुवा उत्पादन गरेको छ । जिल्लामा रहेका पाँच सबडिभिजन कार्यालयले आआफ्नो क्षमतानुरुप बिरुवा उत्पादन गरेको उप्रेतीले जानकारी दिनुभयो । गत वर्ष उक्त कार्यालयले छ लाख बिरुवा उत्पादन गरेको थियो ।

कार्यालयका प्रमुख केदार बरालले गत वर्ष वितरित बिरुवाको नमूना सङ्कलन गर्दा चाँप, टिमुर, तेजपात र कागतीका बिरुवा राम्रो भएको बताउनुभयो । प्रशस्त आम्दानी गर्न सकिने भएकाले तेजपात खेतीलाई वन कार्यालयले अझ बढी प्राथमिकता दिएको छ । त्यसैगरी देवघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा अम्रिसो खेतीलाई बढावा दिइँदै आएको छ । कार्यालयले बिरुवा वितरण गरिसकेपछि स्थलगत अनुगमनसमेत गर्ने गरेको बताइएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments