बाँदर धपाएरै जान्छ किसानको दिनचर्या

गलकोट: बागलुङ नगरपालिका–४ दारेगौडाका ६४ वर्षका किसान विष्णुप्रसाद आचार्य बिहानै उठेपछि घरमुनिको बारीमा बाँदर धपाउन जानुहुन्छ । उहाँ जान्ने सुन्ने भएपछिको दिनचर्या ६४ वर्षको उमेरसम्म पुग्दा बदलिएको छैन । विशेषगरी मकै पाक्ने याममा उहाँको दिनचर्या बाँदर धपाउँदैमा जान्छ । उहाँको घरमुनिको बारी र खेतमा गरेर सात रोपनी जग्गामा मकैखेती छ ।

आखाँ झिमिक्क गर्दा साथ सारा मकै नष्ट गर्ने बाँदरको हुल हेर्दाहेर्दै बुढ्यौली लागेका आचार्य मात्र हुनुहुन्न । यस क्षत्रेमा फैलिएको ३०० रोपनी जग्गामा मकैैखेती गर्ने अन्य किसानको दैनिकीसमेत यसरी नै बित्ने गरेको छ । “एकछिन बारीमा नजाने हो भने मकैबाली बाँदरले सखापै पार्छ”, किसान आचार्यले भन्नुभयो, “खेतीपाती गर्ने काम सामान्यजस्तै भयो तर बाँदरबाट खेतीपाती जोगाउनै सकस छ ।”

बाँदर धपाउने क्रममा कतिले भिरबाट लडेर ज्यानै गुमाउनुपर्ने विवशतासमेत स्थानीयवासीको छ । बिहान ५ देखि बेलुका ७ बजेसम्म बागलुङ नगरपालिका–४ कुँडुले, छापा, फेदी तथा दारेगौडाका किसान बाँदर हेर्नुपर्ने बाध्याता छ । समय कहाँबाट कहाँ पुगेपनि हामी किसान भने बाँदर धपाएर दिन फाल्नुपर्ने बाध्यताको अन्त्य आवश्यक रहेको बाँदर धपाउन खेतमा आएका अर्का किसान दिनेश सापकोटा बताउनुहुन्छ । सापकोटाले किसानलाई अनुदान होइन, बाँदर धपाउने उपाय दिन सरोकारवाला निकायसँग आग्रह गर्नुभयो । “हामीले पटक–पटक नगरपालिकामा बाँदर नियन्त्रणको माग राख्दै आएका छौँ”, सापकोटाले भन्नुभयो, “बाँदर धपाएर जिन्दगी बिताउने किसानको प्रगति कहिले हुन्छ रु”

बाँदरले खेतबारीमा फल्दै गरेको मकै मात्र होइन, मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात नास गर्ने गरेको किसानले गुनासो गर्दै आएका छन् । धान र गहुँको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा बढी समस्यामा पारेको किसान रमेश आचार्यको गुनासो छ । खेतीपातीका लागि कुँडुले क्षेत्रको जग्गा निकै उर्वर मानिने भए पनि कालीगण्डकीको छेउ भएकाले बाँदरले सताउने गरेका छन् । बन्दाबन्दीका कारण छोरा नाति फुर्सदिला हुँदा बाँदर धपाउन केही सहज भए पनि अघिपछि खाना खाने पालो पाउनसमेत मुस्किल रहेको कृषक आचार्यले बताउनुभयो । २० मिनेट मात्रै बाँदर पसेमा सारा खेतीपाटी नष्ट गर्ने भएकाले बाँदर नियन्त्रणको केही उपाय आवश्यक रहेको उनीहरुको भनाइ छ ।

बाँदर नियन्त्रणका लागि नेपालका केही स्थानीय तहले प्रयास गरे पनि खासै प्रभावकारी बन्न सकेको छैन । कुँडुले क्षेत्रमा कलगाडा, राते, बाह्रबिसे र सेते प्रजातिका झण्डै ३०० को हाराहारीमा आउने बाँदरले सताउने गरेको छ । वर्षभरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्ने भएपछि किसान अरु कामधन्दा छाडेर बाँदर धपाउने गरेका छन् । “सबैभन्दा बढी बाँदरले रुचाउने मकै रहेछ”, किसान सापकोटाले भन्नुभयो, “गहुँमा सामान्य क्षति गर्छ भने धान पाक्ने बेलामा बाँदर नलाग्ने गरेको छ ।” बाँदर धपाउनका लागि खेतबारीको डिलमा किसानले छाप्रो नै बनाएर बस्ने गरेका छन् । कुँडुले क्षेत्रमा मात्र नभई सम्पूर्ण वडाभर नै बाँदरले आक्रान्त पारेको गुनासो भए पनि हालसम्म केही गर्न नसकेको बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीले जानकारी दिनुभयो । आगामी वर्ष बाँदर छोपेर अन्यत्र लैजाने कार्यक्रम ल्याउन नगरपालिकामा अनुरोध गर्ने उहाँको भनाइ छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?