बाँझो जमीन देखिनै छाड्यो

लमही। जिल्लाका विभिन्न स्थानमा बाँझो रहेका खेतीयोग्य जमीन आजभोलि हरियाली देखिन थालेको छ ।

धेरै वर्षदेखि खेती नगरेर बाँझो रहँदै आएका खेतबारीमा किसानले यस वर्ष समयमै खेती शुरु गरेका छन् ।

बाँझो जमीन खोज्दै ठेक्का वा अधियाँमा धान खेती गर्नेहरु यस वर्ष थपिएका छन् । केही वर्षदेखि प्लटिङ गरेर खेतीयोग्य जमीनलाई घडेरी बनाउने कार्य पनि पछिल्लो समय रोकिएको छ ।

कोभिड –१९ का कारण विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएका युवाहरु पनि अहिले गाउँघरमै खेतीपातीमा लागेका छन् । यसले गर्दा खेतीका लागि जनशक्ति पनि थपिएको छ ।

स्थानीय तहले पनि खाद्य सुरक्षा, रोजगार प्रबद्र्धन तथा गरीबी निवारण कार्यक्रमअन्तर्गत महामारीको कारणले रोजगारी गुमाएर फर्किएका स्थानीय नागरिकलाई रोजगारमूलक कार्यक्रम ल्याएका छन् ।

नीहरुले आफ्ना पालिकामा तथ्यांक लिएर योग्यता, सीप, क्षमता र अनुभवका आधारमा वर्गीकरण गरी श्रम बैंकमार्फत रोजगारी उपलब्ध गराइने र बेरोजगारलाई सीपमूलक तालीम सञ्चालन गरी बीउ पूँजी वा प्राविधिक सहयोग उपलब्ध गराइने नीति तथा बजेट ल्याएका छन् । त्यससँगै एक घर, एक रोजगारको अभियानलाई निरन्तरता दिइने र खाद्य उत्पादन वृद्धि र सुरक्षित भण्डारण गरी शून्य भोकमरी अभियानलाई निरन्तरता दिइने नीति कार्यक्रम ल्याउँदै बजेटमा त्यसलाई सम्बोधन भएको छ ।

त्यस्तै कृषिमा आधुनिकीकरण, यान्त्रीकरण तथा व्यावसायीकरण गरी उत्पादनमा वृद्धि गरिने, भूउपयोगको नीति निर्माण गरी जग्गाको वर्गीकरण गरेर कृषि उत्पादनको पकेट क्षेत्र निर्धारण गरी जग्गा बाँझो नराख्ने नीतिलाई निरन्तरता दिँदै खेती प्रणाली विस्तार गरी रोजगार सिर्जना गरिने र जग्गा बाँझो राख्नेलाई दण्ड जरिवाना गरिने नीति ल्याएसंँगै जिल्लामा बाँझो जग्गा प्रयोगमा आउन थालेको छ ।

सम्बन्धित निकायसँग यति नै बाँझो जग्गामा खेती शुरु भयो भन्ने तथ्याङ्क नभए पनि यस वर्ष बाँझो जग्गामा खेती शुरु भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसारक अधिकृत भरतराज पोख्रेलले जानकारी दिए। उनले भने ‘‘धानको बीउ, मल जुन रुपमा लगिएको छ, त्यसले य वर्ष अघिल्लो वर्षभन्दा धेरै क्षेत्रफलमा खेती हुने अनुमान गरिएको छ ।’’ गत साल ३५ हजार हेक्टरमा धान खेती गरिएकामा यस वर्ष लगभग थप तीन हजार हेक्टरमा खेती हुने प्रारम्भिक अनुमान गरिएको छ ।

दाङको जमीनमा प्रतिहेक्टर साढे तीनदेखि चार मेट्रिक टन धान उत्पादन हुन्छ । ‘यस वर्ष गाउँघरतिर जमीन बाँझो नरहने अवस्था बनेको छ’’, लमहीका रोमबहादुर केसीले भने ।

विदेशबाट फर्केकाहरु मात्र हैन, जिल्ला बाहिरबाट आएकाहरुले पनि खेती गरेका छन् । जिल्लामा धान मात्रै हैन, करेसाबारीको उत्पादनसमेत बढेको अनुमान गरिएको छ । वर्षे तरकारीका बीउ पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष धेरै बिक्री भएको कृषि प्राविधिक माधव केसीले जानकारी दिए।

‘‘धान, तरकारीसँगै अन्य कृषि उत्पादन पनि बढ्ने देखिन्छ, घरको छेउछाउको बाँझो जमीनमा पनि खेती भएको छ’’, केसीले भने । भारतबाट फर्किएका केशव वलीले भारतमा आफ्नो रोजगारी गुमेकाले गाउँमै खेत भाडामा लिएर धान रोप्न थालेको बताए। रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?