केरा खेतीमा कीरा, किसान चिन्तित

राजापुर। केरा उत्पादन क्षेत्रका रूपमा परिचित हुँदै गएको बर्दियामा केरा खेतीमा कोत्रे र गबारो कीराको समस्या देखिएको छ । केरामा हरेक वर्षझैँ यस वर्ष पनि उक्त कीराको प्रकोप देखिएपछि किसानमा लगानी खेर जाने चिन्ता लागेको छ ।

यस वर्ष कोसा लाग्न लागेको केरामा कोत्रे, गबारो, जुकालगायत कीरा लागेको र नियन्त्रण चुनौतीपूर्ण भएको गुलरियाका कृषक मुकुन्द सुवेदीले बताए। विशेषगरी मालभोग जातको केरामा कोत्रे र गबारो कीराको समस्या बढी देखिएको उनको भनाइ छ ।

जिल्लाका मधुवन, राजापुर र बारबर्दिया क्षेत्रमा लगाइएको केरामा रोगकीरा लागेको किसानले बताएका छन् । आफूले यस वर्ष केराखेती अघिल्लो वर्षभन्दा आधा कटौती गरेको गुलरियाका कृषक कृृृष्णबहादुर भण्डारीले बताए। उनले अघिल्लो वर्ष हजार बोट केरा लगाउँदा रोगले अधिकांश बोट सखाप भएकाले अहिले ४०० मात्र लगाएका छन् ।

केराको बोट परीक्षण नगर्नु, एउटै जग्गामा नियमित केरा लगाउनु, माटो परीक्षण नगर्नु, अनावश्यक रूपमा विषादी तथा रासायनिक मल प्रयोग गर्नुलगायत कारण रोगकीराको प्रकोप देखिएको विचार कृषक सुवेदीले राखे ।

बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले केरा कृषकलाई ५० प्रतिशत अनुदानमा विषादी वितरण गर्न लागिएको जानकारी दिए । गुलरिया नगरपालिका कृषि शाखाका अधिकृत कमल तामाङले खेतबारी सफाइ गर्ने, बालीचक्र अपनाउने, रासायनिक मल प्रयोग गर्ने गर्दा त्यस्ता रोग र कीरा नियन्त्रण गर्न सहयोग पुग्ने सल्लाह दिए । जिल्लाका ५०० भन्दा बढी किसानले व्यावसायिक केराखेती गर्दै आएका छन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?