पाल्पामा चैते धान उत्पादनमा वृद्धि

पाल्पा रासस :आधुनिक प्रविधिको प्रयोग र उन्नत जातका बिउ बिजनले चैते धानको उत्पादन बढेपछि कृषक खुसी भएका छन् ।

यस वर्ष अघिल्ला वर्षको तुलनामा करिब २० मुरी धानको उत्पादन वृद्धि हुने रामपुर नगरपालिका–४ सदावर्तका कृषक विनोद श्रेष्ठ बताए । उनी बर्सेनि नौ रोपनी क्षेत्रफलमा धान लगाएर ३० देखि ३५ मुरीसम्म उत्पादन लिँदै आएकामा यस वर्ष ५५ मुरी उत्पादन हुने अनुमान गर्छन् । ‘खेतमा लहलाउँदो धानका बाला झुलेका छन् । यस वर्ष बर्दियाबाट उन्नत जातको बिउ मगाएर धान लगाए, प्राविधिकको सल्लाह सुझाव पनि राम्रो पाएपछि खेती राम्रो भयो,’ उनले भने ।

सुमित्रा थापा यस वर्ष पाँच मुरी बढी धान फलेपछि खुसी छन् । धानखेती गर्ने राम्रो प्रविधिको ज्ञान सिकेपछि उत्पादन बढेको उनको ठम्याइ छ ।

यस वर्ष कृषि ज्ञान केन्द्र पाल्पाले रामपुर नगरपालिका– ४ स्थित तल्लो वडभान क्षेत्रमा चैते धानको पकेट कार्यक्रम सञ्चालन गरेको छ । ज्ञानकेन्द्र र पकेट समितिको १४÷१४ लाखमा पकेट कार्यक्रम सुरु गरिएको थियो ।

दुई सय दुई रोपनी क्षेत्रफलमा २८ घरधुरीका कृषकले धान खेती गरेका छन् । ती कृषकलाई चार मिनिलिटर, दुई वटा पावर टिलर, दुई वटा रोटाभेटर, चार वटा धान काट्ने मेसिन, बेल्चा, गैटी, धान काट्ने दतिया, मल बिउ बिजनलगायतका सामग्री प्रदान गरिएको समितिका अध्यक्ष ओमबहादुर रानाले जानकारी दिउ । हाल चलन चल्तीमा चैते १, चैते २, हर्दिनाथ, टाइचन, बगरे लगायतका चैते धानका रहेका छन् ।

नगरपालिका क्षेत्रमा करिब ५०० रोपनी क्षेत्रफलमा चैते धानखेती गरिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिए । निस्दी गाउँपालिकामा करिब २८ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिन्छ । ढुङ्गानाबेंसी, गल्धाफाँट, भोटाहा, लामेदमार, मुढाबास, दुनिडमारलगायतका क्षेत्रमा धान लगाउने गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख खिमराज कोइरालाले बताए । यस वर्ष धान राम्रै फलेकाले उत्पादन धेरै हुने ढुङ्गानाबे)सीका कृषक पुर्खासिं सोती बताउँछन् । उनले करिब १० रोपनी जग्गामा धान खेती गरेका छन् । बगनासकाली गाउँपालिकाको पोखराथोक, चिर्तुङ्गधारा, यम्घालगायतका क्षेत्रका केही कृषकले धान लगाउने गरेका छन् ।

कुनै बेला चैते धानले मात्र हरियाली हुने माडीफाँटमा भने हिजोआज धान लगाउनै छाडिएको कृषि शाखा प्रमुख राजेश बोहरा बताउँछन् । धान लगाउने कृषक भने पछिल्ला समयमा कम रहेको उनको भनाइ छ ।

पूर्वखोला गाउँपालिकाको देवीनगर, जल्पा, रिङ्गनेरह क्षेत्रमा चैते धान लगाइन्छ । पछिल्ला वर्षमा कृषकले धान लगाउन कम गरे पनि उत्पादन लिन सफल भएको कृषि शाखा प्रमुख सन्तोष कँडेलले बताए ।

रम्भा गाउँपालिकाको हुँगी क्षेत्रमा पनि धान धेरै उत्पादन हुने गर्दछ । जिल्लामा ७०५ हेक्टर क्षेत्रफलमा चैते धान लगाइन्छ । ज्ञानकेन्दका बागवानी विकास अधिकृत सन्तोष पाठकले परम्परागत कृषि प्रणालीलाई परिवर्तन गरी पकेट क्षेत्रमा नवीन प्रविधि तथा यन्त्रको उपयोगबाट खेती लगाउने तथा धान काट्ने आधुनिक औजार सहयोग गरेको जानकारी दिए ।

चिउराका लागि चैते धान राम्रो मानिन्छ । ज्ञानकेन्द्रका प्रमुख शिवप्रसाद अर्यालले धान उत्पादन वृद्धिका लागि कृषकलाई केन्द्रले आवश्यक सहयोग गरेको बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?