घाँसखेतीमा कृषकको आकर्षण

व्यावसायिक पशुपालनसँगै डाँलेघाँसका बिरुवाको माग बढ्दो

पशु आहारका लागि पोषिलो घाँस उत्पादन वृद्धि गर्न घाँसखेतीलाई व्यवसायीकरण गर्न थालिएको छ । जिल्लाका तानसेन, रामपुर नगरपालिका रम्भा गाउँपालिकालगायत विभिन्न क्षेत्रका कृषक व्यावसायिक घाँस उत्पादनमा लागेका छन् ।

भेटरीनरी तथा पशुविज्ञ केन्द्र पाल्पाले कृषक तथा समूह सहकारीको मागका आधारमा घाँसखेतीमा सहयोग गर्न थालेपछि कृषक सो खेतीतर्फ आकर्षित भएका हुन् । पशुपालन गर्ने कृषक बढ्दै जान थालेपछि पशु आहाराका लागि खाली रहेका जमिनमा घाँसखेती गर्न थालिएको छ । चालू आर्थिक वर्षमा केन्द्रले रामपुर नगरपालिकास्थित सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थालाई घाँसको नर्सरी स्थापना गर्न सहयोग गरेको छ ।

पशुविज्ञ केन्द्रको १० लाख र सहकारीको १० लाख समन्वयमा घाँसखेती प्रवद्र्धन कार्यक्रमका लागि सम्झौता अगाडि बढाएको केन्द्रका प्रमुख डा. चन्द्रबहादुर राना जानकारी दिए । सहकारीले यस वर्ष ६० कृषकलाई रामपुरमा नर्सरी स्थापना गर्न १ लाख बराबरको घाँसको बिउ वितरण गरेको अध्यक्ष कृष्णकुमार अर्यालले बताए ।

नेपाल सरकारसँग खरिद गरेको सुपर नेपियर, सिओफोर, मुलाटो, बदामे, पासपलाम र सुब्बा सेटरिया जातका घाँसको बिउ वितरण गरिएको व्यवस्थापक भविनारायण मरासिनीले बताए । सहकारीले कृषकलाई अनुदानमा बिरुवा उपलब्ध गराएपछि व्यवसाय गर्न सजिलो परेको अगुवा कृषक बलबहादुर राना जानकारी दिए ।

पशुविज्ञ केन्द्रले गत वर्षदेखि नै घाँसखेतीलाई व्यवसायीकरण गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको छ । भेटरीनरी तथा पशुविज्ञ केन्द्रले सञ्चालन गरेको पाल्पाको तानसेन नगरपालिकास्थित धु्रवघाटमा करिब ३१ रोपनी क्षेत्रफलमा घाँसखेती छ । यहाँ डाले प्रजातिका बडहर, किम्बु, राई खनियो, टाँकी, कोइरालो, इपिलिपीलगायतका घाँसका बिरुवा उत्पादन गरिन्छ ।

यसअघि निःशुल्क घाँसका बिरुवा वितरण गर्ने गरिन्थ्यो भने यो वर्षदेखि प्रदेश सरकारले तोकेको शुल्कमा बिक्री गर्न थालिएको छ । यस वर्ष घाँसका बिरुवा बिक्री गरेर करिब तीन लाख बराबरको राजस्व सङ्कलन हुने केन्द्रले जनाएको छ ।

तानसेन नगरपालिका– ११ स्थित बृज एग्रो एन्ड रिसर्च सेन्टर, रिसर्च सेन्टर बाख्राफार्म, रम्भा गाउँपालिका– २ को फोक्सिङ्गकोट, रामपुर नगरपालिका– ३ स्थित गण्डकीढिक र वडा नं ७ मोहटी लगायतका क्षेत्रमा समूह तथा व्यक्तिगत तवरले घाँसखेती गरिँदै आइएको छ । जिल्लामा करिब एक दर्जनभन्दा बढी कृषक, समूह तथा सहकारीले व्यावसायिक घाँस खेती सुरुवात गरेका छन् । रासस

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments