मुलुकभर ८२ प्रतिशत धान रोपाइँ

काठमाडौँ, असार मसान्तसम्ममा मुलुकभर ८२ प्रतिशत धान रोपाइँ सकिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार बर्खे रोपाइँ हुने १३ लाख ७१ हजार सात सय ६ हेक्टर क्षेत्रफलमध्ये ११ लाख १९ हजार ९१ हेक्टरमा रोपाइँ सकिएको छ। यो अवधिमा तराईमा लक्ष्यको सबैभन्दा बढी ८४ प्रतिशत, मध्य र उच्च पहाडमा ७५ प्रतिशत रोपाइँ भएको छ। मन्त्रालयका अनुसार तराईमा आठ लाख २३ हजार ६८, मध्यपहाडमा दुई लाख ५९ हजार नौ सय ९६ र उच्च पहाडमा ३६ हजार २७ हेक्टरमा रोपाइँ भएको छ।

यो अवधिमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा र कम प्रदेश नं १ मा धान रोपाइँ भएको छ । सूदुरपश्चिममा लक्ष्यको ९१.८६ प्रतिशत (एक लाख ५१ हजार दुई सय ३७ हेक्टर) मा रोपाइँ सकिएको हो। त्यस्तै, प्रदेश नं १ मा लक्ष्यको ७० प्रतिशत (एक लाख ९२ हजार आठ सय ८३ हेक्टर) मा रोपाइँ भएको छ। प्रदेश २ मा ८३ प्रतिशत (तीन लाख चार हजार नौ सय ७८ हेक्टर), बाग्मती प्रदेशमा लक्ष्यको ७२ प्रतिशत (८३ हजार एक सय २३ हेक्टर) र गण्डकी प्रदेशमा ८४ प्रतिशत (९० हजार ६ सय १६ हेक्टर) मा रोपाइँ भएको छ। प्रदेश नं ५ मा लक्ष्यको ८७ प्रतिशत (दुई लाख ६२ हजार नौ सय २२ हेक्टर) र कर्णाली प्रदेशमा लक्ष्यको ८७ प्रतिशत (तीन लाख ३३ हजार तीन सय ३२ हेक्टर)मा रोपाइँ सकिएको छ।

गत वर्षको यो अवधिमा ५० प्रतिशत मात्र रोपाइँ भएको थियो। यसपटक समयमै वर्षा भएको कारण धान रोपाइँ भएको कृषि विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेलले जानकारी दिए। कृषि विज्ञ भोलामानसिंह बस्नेतले समयमै वर्षा हुँदा अकासे पानीमा भर पर्नुपर्ने अधिकांश किसानले फाइदा उठाएको बताए। ‘उत्पादन राम्रो हुन धेरै कुराले प्रभाव पार्छ यसमा समयमै धान रोपाइँ सकाउँदा पनि उत्पदान बढाउन राहत मिल्छ,’ बस्नेतले भने, ‘धेरै किसानले मलबिनै रोपाइँ सकाएको भन्ने छ, यसले केही असर गर्ला तर मौसमले साथ दिएकोले समयमा रोपाइँ हुँदा उत्पादन राम्रो हुन सक्छ।’

बस्नेतले धान रोप्न ढिलो हुँदा बीउ बूढो भएर गाँज नलाग्ने र त्यसले बालामा समेत असर पुग्ने बताए। उनी समयमै धान रोप्दा समयमै पाक्ने र यसले गहुँलाई समेत फाइदा हुने बताए। ‘मंसिरको पहिलो हप्ता गहुँ छर्दा उत्पादन बढ्ने सम्भावना बढी हुन्छ, मंसिरको दोस्रो हप्तातिरबाट छर्दा विस्तारै कम हुँदै जान्छ,’ उनले भने, ‘अहिले समयमै धान रौप्दा गहुँ समयमै छर्न सकिन्छ, गहुँ छर्न ढिला हुँदा प्रतिदिन प्रतिहेक्टर ५० किलोसम्म उत्पादन कम हुन्छ।’ नागरिक

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?