बिरुवा संरक्षणमा जुट्दै सामुदायिक वन

वृक्षरोपण

तुलसीपुर, जिल्लामा बर्सेनि हजारौँ बिरुवा रोपिन्छन् तर संरक्षण भएको देखिँदैन । डिभिजन वन कार्यालयसँग वार्षिकरुपमा वितरण गरिएका बिरुवाको तथ्याङ्क छ तर संरक्षण गरिएको बिरुवाको कुनै तथ्याङ्क छैन । डिभिजन वन कार्यालयले बिरुवा उत्पादन, रोपण, तारबारका लागि वार्षिक एक करोडभन्दा बढी रकम खर्च गर्छ । जिल्लाका कतिपय सामुदायिक वनहरू भने रोपणमा मात्रै होइन रोपिएका बिरुवा संरक्षणमा पनि त्यतिकै अब्बल रहेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मनिकापुरमा रहेको शुभकोटी डाँडामा २०५० सालपूर्व ठूलै मेला लाग्थ्यो । त्यही मेला लाग्ने डाँडामा बिरुवा रोपिएको छ । सामुदायिक वनमा हर्रो, बर्रो, अमला, खयर, आपँ, टीक, काइँयोलगायतका बिरुवा रहेको पूर्व अध्यक्ष ज्वाला पौडेल बताउनुहुन्छ । सात हेक्टर क्षेत्रफलमा रहेको शुभकोटी सामुदायिक वन स्थानीयले वन कार्यालयमा दर्ता गरी काठ, दाउरा, घास उपभोग गर्दैआएका छन् । शुभकोटी सामुदायिक वन मात्रै होइन, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको पकर्रे सामुदायिक वनमा हालसम्म पाँच हजार बढी बिरुवा रोपण गरिएको छ ।

रोपण गरिएकामध्ये चार हजार बढी बिरुवा घाँस, फल, काठ, दाउरा उपभोग्य गर्ने अवस्थामा रहेको सामुदायिक वन समूहका अध्यक्ष लोकबहादुर रोका बताउनुहुन्छ । सामुदायिक वन दर्तापूर्व खाली क्षेत्र करिब अाठ हेक्टर रहेकोमा हाल बिरुवा रोपण अब भने एक हेक्टर मात्रै खाली क्षेत्र रहेको अध्यक्ष रोकाले बताउनुभयो ।

डाँडामा मात्रै होइन तुलसीपुर नयाँ बसपार्कदेखि दक्षिणतर्फको बगरमा समेत स्थानीयहरूले वृक्षारोपण गरी वन तयार पारेका छन् । समुदायस्तरबाट बिरुवा रोपण भई संरक्षण हुनु वातावरणीय पक्षबाट मात्रै सकारात्मक नभई उपभोक्ताको आर्थिक पक्षसमेत सबल हुने बिजौरी सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत कमल पुन बताउनुहुन्छ । डिभिजन वन कार्यालयले यो वर्ष २२ वटा सामुदायिक वनको १६० हेक्टर क्षेत्रफलमा एक लाख नब्बे हजार बिरुवा रोपण गरेको भएको डिभिजन वन कार्यालयका प्रमुख दीपक ज्ञवालीले जानकारी दिनुभयो ।

विगतका वर्षमा बिरुवा संरक्षण नभएको गुनासो आएका कारण यो वर्षदेखि सम्बन्धित क्षेत्रमा आफैँ पुगेर बिरुवा रोप्नका लागि उपभोक्तालाई सचेतना दिइँदै आएको प्रमुख ज्ञवालीले बताउनुभयो । कार्यालयले यो वर्ष १५ हजार मालागेडी, एक लाख टिमुर र पाँच हजार चिउरीका बिरुवा वितरण गरेको छ । काठ प्रजातिका दुई लाख ५० हजार बिरुवा वितरण गरिएको छ ।गोकर्ण पौडेल/गोरखापत्र

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments