‘एकघर एक भैंसी, खाउँ दूध नखाउँ रक्सी’ अभियान

किसानलाई भैँसी

महेश्वर चामलिङ राई
उदयपुरको त्रियुगा नगरपालिका–१६ चिलाउनेले मदिराजन्य पदार्थ उत्पादन र प्रयोग घटाउँदै व्यावसायिक पशुपालनतर्फ जोड दिने अभियान थालेको छ । दूधजन्य पदार्थ उत्पादन र उपभोग बढाउँदै मदिराजन्य पदार्थमा कमी ल्याउन वडाले यो अभियान थालेको हो ।

त्रियुगा नगरपालिका–१६ का वडाध्यक्ष मानबहादुर राईले मदिरा नियन्त्रण गर्दै दूधजन्य पदार्थको उत्पादन र सेवनमा जोड दिन आफ्नो वडाबाट अभियान थालेको बताए । मदिरा सेवनले घरेलु हिंसा, झैझगडा, स्वास्थ्यमा खराबीका साथै आर्थिक र सामाजिक क्षति हुने समस्याबाट वडावासीलाई मुक्ति दिँदै व्यावसायिक पशुपालनतर्फ उन्मुख गराउन यो अभियान थालेको बताए । पशुपालनबाट दूधजन्य पदार्थ उत्पादन, सेवन र बिक्री वितरणले स्वास्थ्यमा फाइदा हुनुका साथै आयआर्जनसमेत गर्न सकिने उनको ठहर छ ।

भैंसीपालनबाट दूधजन्य पदार्थको उत्पादन गर्दै बिस्तारै मदिराको कमी ल्याउन सन्देशमूलक नारा ‘एकघर एक भैंसी, खाउँ दूध नखाउँ रक्सी’ अघि सारिएको छ । यो नाराले भैंसीपालन अभियानलाई सफल बनाउने वडाध्यक्ष राईले बताए । वडाले कृषकलाई भैंसीपालनतर्फ आकर्षित गर्न चालु आर्थिक वर्षमा पाँच लाख बजेट विनियोजन गरेको छ । सो बजेटबाट पहिलो चरणमा १० किसानलाई भैंसी किन्न अनुदानमा खर्च गरिने वडाध्यक्ष राईले बताए ।

उनका अनुसार व्यावसायिक भैंसी पाल्न इच्छुक किसानलाई वडाले ५० प्रतिशत अनुदान दिने छ । बाँकी ५० प्रतिशत रकम सहकारीबाट जुटाउन सहकारी गठनसमेत भइसकेको छ । सहकारीको ऋण एक वर्षभित्र तिर्न मिल्नेगरी व्यवस्था मिलाउन वडा नं १६ मै ‘ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ गठन गरी सञ्चालनमा ल्याइसकिएको उनले बताए । ‘दूधजन्य पदार्थ सेवन र बिक्री वितरण गर्दै मदिरा उत्पादन र प्रयोगमा कमी ल्याउन हाम्रो नगरपालिकाले यो दीर्घकालीन प्रभावको योजना अघि सारेको हो,’ वडाध्यक्ष राईले भने, ‘चालु वर्ष परीक्षणका लागि आफ्नै वडाबाट अभियान सुरु गर्दैछु, पछि नगरपालिकाभरी विस्तार गरिनेछ ।’

भौगोलिक रूपमा वडा नं १६ मा खोंच, खोला नाला र घासजन्य वनस्पती बाक्लो भएको जंगल भएकाले पशुपालनको अत्यन्त सम्भावना भएर त्यसतर्फ वडाले जोड दिए उनले बताए । ‘भैंसीपालनबाट दूध, दही, घ्यु उत्पादन हुन्छ र जसले बालबालिका र वृद्धवृद्धामा पोषणको कमी हुन नदिएर स्वस्थ राख्छ,’ अध्यक्ष राईले भने, ‘मदिरा सेवनबाट हुने घरेलु हिंसालगायत विभिन्न सामाजिक विकृतिमा पनि यसले कमी ल्याउँछ ।’ किसानलाई भैंसीपालनमा जोड दिएका उनले उत्पादित दूधको व्यवस्थित खपत र बिक्री वितरण गर्न वडामै दूध चिस्यान केन्द्र खोल्न प्रदेश सरकारसँग प्रस्ताव पनि गरिसकेका छन् ।

प्रदेश सरकार र नगरपालिकाको समन्वयमा वडामै एउटा चिस्यान केन्द्र खोलेर त्यहाँ उत्पादित दूध र दूधजन्य पदार्थको व्यवस्थित बिक्री वितरण गरिने उनले बताए । यसले किसानलाई आत्मनिर्भर बनाउनुका साथै उनीहरूको आयआर्जनमा वृद्धि हुने लक्ष्य वडाले लिएको छ । – नागरिक

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments