गुर्जो अभियान : ‘स्याबासी’ले अझै उत्साही युवा

गुर्जो रोपण

काभ्रेपलाञ्चोक। बनेपा नगरप्रमुख लक्ष्मीनरसिं वादेले कार्यालयमा आई निःशुल्क ४० गुर्जो (चिनी लहरो) प्रदान गर्ने स्थानीय युवालाई ‘स्याबासी’ र बधाई दिए ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम मोलेर अरुको स्वास्थ्यप्रति चासो दिएकोमा वादेले स्याबासीसँगै बधाई र धन्यवाद दिएका हुन् ।

“उहाँहरुको अभियानलाई स्याबासी, धन्यवाद र बधाई दिनैपर्छ, अहिलेको अवस्थामा उहाँहरुको योगदान अमूल्य छ”, वादेले भने । धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले बनेपाका युवाको सक्रियताको प्रशंसा गर्दै कोरोना भाइरस सङ्क्रमणको जोखिममा मानव सेवामा खेटेकामा ‘धेरै–धेरै बधाई’ भन्दै अभियानलाई निरन्तरता दिन आग्रह गरे ।

“उहाँहरुको साहसलाई ‘स्यालुट’ गर्नैपर्छ, आफ्नोभन्दा अन्यको सेवामा खट्ने मेहनती युवा टोलीलाई”, उनले भने । उनका अनुसार युवाले थप आवश्यकता परे पुनः ल्याइदिने आश्वासनले आफू निकै खुशी भएको बताए ।

कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढिरहेका बेला बनेपा–१० जनागालका युवाले कोरोना भाइरस नियन्त्रणमा ‘फ्रन्ट लाइन’मा खट्ने काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौँका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधिलगायतलाई ठूलो परिमाणमा निःशुल्क गुर्जो वितरण अभियान चलाएको पनि हप्ता नाघिसक्यो ।

सामाजिक अभियानकर्मी मुक्ति विष्टले केही युवाको साथ लिएर यो अभियान सञ्चालन गरेका हुन् । उनीहरुको हालको दिनचर्या गुर्जो सङ्कलन र वितरणको योजना बनाउँदै व्यस्त रहन्छ ।

“गुर्जाे पाउने निकायबाट पाइएको स्याबासी, बधाई र धन्यवादले हामीलाई निकै उत्साही बनाएको छ, हाम्रो अभियान जारी नै छ, थप आवश्यकता पर्नेलाई पुनः दिने योजना पनि छ”, विष्टले भने । उनको अभियानमा गुर्जो सङ्कलन तथा वितरणमा स्थानीय रवीन्द्र देउजालगायत युवाले साथ दिएका छन् । “काभ्रेपलाञ्चोकका गुर्जो दिने स्वास्थ्य संस्था, स्थानीय तह तथा सुरक्षा निकायमा लेजाने योजनामा छौँ”, देउजाले भने ।

टोलीले मङ्गलबार बल्खुस्थित बयोदा अस्पतालमा ४० किलो गुर्जो प्रदान गरेको छ । एक–दुई दिनमा धुलिखेल अस्पताल पनौती नगरपालिका कार्यालय र पनौतीस्थित सामुदायिक सहकारीमा गुर्जो दिन सङ्कलन भइरहेको विष्टले बताए । उनले भने, “विशेषगरी काभ्रेपलाञ्चोकमा आइसोलेसन सञ्चालन भएसम्म त्यहाँ रहने सङ्क्रमितलाई गुर्जो अभाव हुन दिने छैनौँ ।” उनका अनुसार काभ्रेका सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कोरोना नियन्त्रणमा खट्ने कर्मचारीसमेतलाई पुर्याउने लक्ष्य युवा टोलीको छ ।

आयुर्वेद चिकित्सकले प्रमाणित गरेअनुसार गुर्जो जडीबुटी सेवनले मानिसको प्रतिरक्षात्मक क्षमता मजबुत बनाई विभिन्न रोग तथा कोरोना भाइरसबाटसमेत मुक्ति दिलाउने भएकाले कोरोना भाइरस नियन्त्रणमा ‘फ्रन्ट लाइन’मा खट्नेलाई निःशुल्क गुर्जो वितरण अभियान थालिएको विष्टले बताए ।

अभियानको शुरुआत भदौ १० गते जिल्ला प्रशासन कार्यालयमा पाँच बोरा गुर्जो वितरणबाट गरिएको थियो । उक्त गुर्जो प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र अनुसन्धान कार्यालयलाई वितरण गर्ने गरी प्रदान गरिएको हो ।

त्यसलगत्तै बनेपा नगरद्वारा सञ्चालित आइसोलेसनमा उपचाररत कोरोना सङ्क्रमितका लागि ५० किलो र साँगा प्रहरी पोष्टमा २५ किलो, बनेपाकै बाल अपाङ्ग अस्पतालमा ६० किलो, जनागालस्थित हङ्सदा योग आश्रममा ५० किलो, नेपाल प्रहरी स्कूल साँगामा ३५ किलो र धुलिखेल नगर कार्यालयमा ४० किलो, भैँसेपाटीस्थित स्पाइनल इन्जुरी अस्पताल (जहाँ स्वास्थ्यकर्मीलगायत १०५ सङ्क्रमित छन्) मा ५० किलो, भक्तपुरको जगाती र दुवाकोट प्रहरी पोष्टमा ४० किलो वितरण गरिएको अभियानकर्मीले जानकारी दिएका छन् । हालसम्मका लागि गुर्जो बनेपा नपा–२ बाट सङ्कलन गरी वितरण गरिएको देउजाले बताए। उनका अनुसार रुखमा बेरिएको लहरालाई निकालेर साना–साना टुक्रा पारेर वितरण गरिएको हो ।

टोलीलाई अहिले गाउँगाउँबाट गुर्जो लिन आउन खबर आइरहेको छ । विष्टले वितरण मात्र नभई गुर्जोको फाइदाबारे र गुर्जो खेतीबारे पनि सिकाउँदै आएको बताए । उनका अनुसार काभ्रेपलाञ्चोक र भक्तपुरमा रहेका थप प्रहरी कार्यालयमा वितरण गर्ने योजना बनाइएको छ ।

कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढिरहेका बेला हाल गुर्जो मात्राअनुसार तातोपानीमा उमालेर रस पिउने गर्दा कोरोना भाइरस निको हुने विश्वास गरिन्छ । आयुर्वेद चिकित्सकका अनुसार गुर्जो अर्थात् चिनी लहरा सजिलोसँग विस्तार भई सर्ने पराश्रयी लता हो । यसका आँख्लाहरुबाट जरा निस्किएर हावामा लहरिएका हुन्छन् ।

सेता थोप्ला भएको बोक्रा पातलो कागजजस्तो हुने गुर्जो उच्च रक्तचाप, शिरको गर्मी, पागलपन, कब्जियत, फोक्सोको क्षय, पत्थरी, मुत्ररोग, धातुरोग, कमलपित्त, दम, मधुमेह, पुरानो ज्वरो निको पार्न उपयोग मानिदै आएको छ । सुत्केरी महिलाबाहेक सबैले प्रयोग गर्न सकिने औषधीय गुणले परिपूर्ण तिक्त र टर्रो हुने गुर्जोको लहरा मोटो र गुदीदार हुन्छ । रासस

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments