विदेशबाट फर्किएका पाँच युवाले सुरु गरे दुई करोड लगानीमा बाख्रापालन

हरिकृष्ण गौतम
म्याग्दी ।
बेनी नगरपालिका–४, सिङ्गा डाँडाखेतका पाँच युवाले विदेशबाट फर्किएर ब्यवसायीक बाख्रापालन सुरु गरेका छन्। धन कमाउनका लागि विदेशको विभिन्न देशहरुमा पुगेका उनीहरुले त्यहाँ सिकेको सिप र गरेको कमाइलाई स्वदेश फर्किएर आफ्नै गाउँ ठाउँमा लगानी गरेका हुन्। विभिन्न देशबाट फर्किएका र विदेशमा रहेका डाँडाखेतका महेन्द्र बानियाँ, देवबहादुर जिसी, ध्रुव कुँबर, रेशम कुँबर र रामजी कुँबरले दुई करोड रुपैयाँको लगानी गरेर बाख्राको फर्म स्थापना गरेका छन्।

उनीहरुमध्ये देव जिसी साउदी अरब र रेशम तथा रामजी कुँबर दक्षिण कोरियामै कार्यरत छन्। एकता एग्रो रिसर्च एण्ड रिसोर्ट प्रालि दर्ता गरी गएको वर्ष भदौ महिनादेखि युवाहरुले बाख्रापालन सुरु गरेका थिए। ‘विदेशबाट फर्किनु अगाडी नै गाउँमा गर्ने ब्यवसायमा लगानी सुरु गरेका छौ,‘सधै विदेशमा काम गरेर मात्रै जिन्दगी चल्दैन’ साउदीमा रहेका जिसीले भने। उनले गाउँमा रहेका साथीहरु बाहेक अहिले फुर्सदमा श्रीमतीले समेत साथ दिने गरेको बताए।

जिल्लामै सबैभन्दा ठूलो र फरक तरिकाले सञ्चालित फर्ममा अहिले कुल १ सय ३२ वटा बोयर तथा स्थानीय जातका बाख्राहरु पालिएको फर्मका अर्का प्रोप्राइटर महेन्द्र बानियाँले बताए।

‘आंशिक र पूर्ण गरी कुल दुई करोड रुपैयाँभन्दा बढीको लगानी भएको छ,‘अब उत्पादनलाई बजारमा लैजान्छौ’ उनले भने। सुरुमा चितवनको जगतपुरबाट १६ वटा बाख्रा खरिद गरी सुरु गरेको फर्ममा अहिले ५० प्रतिशत शुद्ध बोयर तथा ५० प्रतिशत लोकल खरी, जमुनापारी, बारबारी जातका बाख्राहरु रहेको छन्।

हाल उक्त फर्ममा ५२ वटा पाठापाठी, ४७ वटा बोका र बाँकी माउबाख्रा छन्। फर्ममा अहिले बोयर जातका ७ वटा बोका बिउँ पुँजीको रुपमा राखिएको छ। अहिलेसम्म फर्मबाट करिब २५ वटा बोका तथा खसी बिक्री गरिएको छ भने प्रतिकेजी जिउँदो बाख्राको मूल्य पाँच सय रुपैयाँ तोकिएको छ। बाख्रापालन व्यवसायका लागि १० रोपनी जग्गा बन्धकीसहित ८० रोपनी जग्गा खरिद गरी ५ रोपनीमा संरचना मात्रै निर्माण गरिएको छ भने बाँकी जग्गामा घाँस खेती लगाइएको छ।

बाख्रालाई घाँस खुवाउन वर्षे घाँसअन्तर्गत सुडान, मकै, बोडी, स्याल्टुङ, बहुवर्षे घाँसतर्फ सुपर नेपियर, चुम्बा सेतोरिया, मलासो रोपिएको छ। यसैगरी डाले घाँसतर्फ कोईरालो, ईपिल–ईपिल, रायखन्यु, कुटमिरो, फोस्रो, अम्लिसो, खनिउ, बकाईनो, टमिलो, निमारो, टाँकीलगायत स्थानीय जातका घाँस खेती गरिएको छ। ब्यवसायीक पशुपालनमा सरकारी अनुदान अझै फलामको चिउरा चपाएजस्तै भएको गुनासो गरे। राष्ट्रिय वाणिज्य बैंकको म्याग्दी शाखामार्फत २२ लाख रुपैयाँ सहुलियत व्याज कृषि कर्जा स्वीकृत भए पनि जम्मा १० लाख रुपैयाँ मात्रै बैंकले दिइएकोमहेन्द्र बानियाँले बताए।

‘कर्जामा पनि झन्झट रैछ,‘समाचारमा आएजस्तै कर्जा पाउन सकिन,‘स्थानीय तहसँग पनि योजनै भेटिन’ उनले भने। बेनी नगरपालिकाको पशु सेवा शाखाबाट घाँसका बिरुवा र परामर्श एवं भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीबाट घाँस काट्ने मेसिन (च्यापकटर)बाहेक अन्य सहयोग नभएको युवाको गुनासो छ।

पछिल्लो समय म्याग्दीमा विदेशबाट फर्किएका युवाहरुले धमाधम पशुपालनमा लगानी सुरु गरेका छन् नागरिक दैनिकमा खबर छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments