अन्न छाडेर अदुवा, बेसार खेती तिर सल्यानका किसान

दीपक शर्मा

सल्यान – अदुवा, बेसार खेतीबाट राम्रो आम्दानी हुन थालेपछि सल्यानका किसानहरु उत्साहित भएका छन् । थोरै क्षेत्रफलबाट पनि मनग्य आम्दानी गर्न सकिने भएपछि सल्यानका किसानहरु अन्नबाली छाडेर व्यवसायिक अदुवा बेसार खेतीमा लागेका छन् ।

परम्परागत खेती प्रणालीबाट जीविकोपार्जनमा समस्या उत्पन्न भएपछि माटोको अवस्था र बजार मागलाई ध्यान दिँदै उत्पादन सुरु गरिएको कालिमाटी गाउँपालिका १ बयालेका केरसिङ रावतले बताउनुभयो । १० रोपनीमा व्यवसायिक बेसार खेती गर्दै आइरहेका रावतले वार्षिक झन्डै तीन लाख आम्दानी गर्दै आइरहेका छन् । उनले भने ‘गत वर्ष गिट्टी पारेको बेसार १० क्विन्टल र काचो ३० क्विन्टल विक्री गरेको हुँ । गिट्टी पारेको १६ हजार रुपैयाँ क्विन्टल र काँचो ४ हजार रुपैयाँ क्विन्टल विक्री गरेको हुँ ।’

बारीमा अन्नबाली भन्दा अदुवा बेसार जस्तो नगदे बाली लगाउँदा दोब्बर आम्दानी लिइ रहेको उनको भनाई छ । उनले भने ‘पहिले पहिले यस ठाउँका अधिकाशं बासिन्दा कामको लागि भारत लगायत विदेश तिर जान्थे । तर अहिले घरपरिवारसँगै बसेर अदुवा बेसार खेती गरि रहेका छन् ।’ विगतमा वर्षहरुमा अदुवा बेसारले बजार नपाउँदा निरास बनेका किसानहरु पछिल्लो समय पुनः राम्रो मुल्य पाउन थालेपछि व्यवसायिक खेतीमा लागेको बागचौर नगरपालिका वडा न ३ का नन्दलाल शर्माले बताए । उनले भने ‘पहिले घरमै खानको लागि मात्र लगाउथ्यौै अहिले बेच्ने गरी लगाउँछौं । अन्नबाली लगाउँदा घरमै खान ठिक्क हुन्थ्यो अदुवा बेसार लगाउन थालेपछि घरखर्च चलाउन र छोराछोरी बढाउन सहयोग पुगेको छ ।’ गत वर्ष २५ क्विन्टल बिक्री गरेको बताउँदै यो वर्ष ९ रोपनीमा अदुवा र बेसार लगाएको उनको भनाई छ ।

सल्यानमा १ हजार ७ सय २० हेक्टर क्षेत्रफलमा अदुवार र ३ सय २५ हेक्टरमा बेसार खेती हुँदँ आइरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । अन्यबाली भन्दा नगदे बालीको रुपमा रहेको अदुवा बेसारबाट राम्रो आम्दानी लिन सकिने भएपछि पछिल्लो समयमा सल्यानका किसानहरु अदुवा बेसार खेती तर्फ आर्कषित भइरहेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले बताउनुभयो ।

सल्यानमा अदुवा बेसार खेती वृद्धि कृषि प्रधानमन्त्री आधुनिकिकरण मार्फत जोन कार्यक्रम सञ्चालन गरिएको बस्नेतको भनाई छ । शारदा नगरापलिकाको वडा न ६, ७, १४ र १५, सिद्ध कुमाख गाउँपालिकाको वडा न १ देखि ५ र बागचौर नगरपालिकाको वडा न १ देखि २ सम्म अदुवा बेसार जोन कार्यक्रम सञ्चालन गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments