मासुमा नोक्सान व्यहोर्दै किसान,जिउँदो प्रतिकिलो रु ९०

कुखुरा र माछाको तस्करी

चितवन : ब्वायलर कुखुराको मासुको मूल्यमा निकै गिरावट आएपछि किसानले प्रतिकिलो रु ९५ हाराहारी नोक्सानी व्यहोर्नु परेको छ । उत्पादन बढी र खपत कम भएपछि मूल्य घटेर किसानले घाटा व्यहोर्नु परेको हो ।

नेपाल ब्वायलर कुखुरापालक किसान सङ्घका अध्यक्ष झनक पौडेलका अनुसार अहिले ब्वायलर कुखुरा प्रतिकिलो रु ११० हाराहारीमा बिक्री हुने गरेको छ । जसको लागत मूल्य प्रतिकिलो रु २०५ रहेको उनको भनाइ छ । कुखुरा नबिकेपछि कतिपय जिउँदो प्रतिकिलो रु ९० मा बिक्री गर्नुपरेको गुनासो किसानले गरेका छन् ।

तयारी मासु प्रतिकिलो रु १७५ मा समेत बिक्री हुने गरेको छ । चितवनमा प्रतिकिलो रु २०० र काठमाडौँमा रु २२० दररेट राखेर मूल्य सार्वजनिक गरेको पाइन्छ । धेरै कुखुरा हुनेले सो मूल्यभन्दा कममा नै बिक्री गरेका हुन् ।

पौडेलले वाणिज्य विभागलगायतका सरोकारवाला निकायमा शुक्रबार निवेदन दिएर बजार अनुगमन गर्न अनुरोध गरिएको बताए। देशभर एक सयदेखि १० हजारसम्म ब्वायलर कुखुरा पाल्ने किसान ४५ हजार हाराहारी छन् । अहिले उत्पादन भएको कुखुराको चल्ला किन्दा किसानले रु ६५ तिरेका थिए । सरदर प्रतिकिलो रु ३० को दाना खुवाएको उनले जानकारी दिए ।

नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घका केन्द्रीय अध्यक्ष जेतनारायण पाण्डेले साना किसान धेरै प्रभावित बनेको बताए । उत्पादन नै बढी हुँदा समस्या भएको उनको भनाइ छ । उत्पादन बढी र खपत कम हुँदा दुई किलो भएका कुखुरा खोरबाट उठाउनुपर्नेमा तीन किलो पाँच सय ग्रामसम्मका कुखुरा पनि उठ्न नसकेको उनले बताए।

पछिल्लो समय ह्याचरी उद्योगी, विदेशबाट फर्किएका लगायत अन्य व्यवसाय गर्नेहरुले समेत ब्वायलर कुखुरा पालेका कारण उत्पादन बढेको उनको भनाइ छ । बजारको मागलाई ध्यान नै नदिइ कुखुरा पालिएको उनले बताए । होटल, रेष्टुरेन्ट, विद्यालय, क्याम्पस, बजार पूर्णरुपमा नखुल्दा खपत बढ्न नसकेको पाण्डे बताउँछन् ।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले अहिले सातामा ३५ लाख ब्वायलर चल्ला उत्पादन हुने गरेको जानकारी दिए । यी सबै चल्ला बिक्री भएका छन् । १५ प्रतिशत हाराहारी मरे पनि अरु हुर्किन्छन् । दैनिक आठ लाख ५० हजार किलो मासु उत्पादन हुने गरेको उनको भनाइ छ ।

पोखरेलका अनुसार खपतमा निकै गिरावट आएको छ । काठमाडौँमा दैनिक पाँच लाख किलो मासु खपत हुनेमा अहिले झण्डै आधामा झरेको छ । जसले गर्दा मासु बिक्री हुन नसक्दा मूल्य नआएको उनको भनाइ छ ।

कुखुराको मूल्य नआएपछि चल्ला राख्न किसान डराएका छन् । जसका कारण चल्लाको मूल्य प्रतिगोटा रु ६५ बाट घटेर रु २० देखि ३० मा बिक्री हुने गरेको उनले जानकारी दिए। भारतमा चल्लाको मूल्य बढी भएपछि यहाँका व्यवसायी भारततर्फ चल्ला पठाउन थालेका छन् । भारतमा प्रतिगोटा भारु ४५ हाराहारीमा बिक्री हुने गरेको व्यवसायी बताउँछन् ।

नेपालमा झण्डै दुई महिनाअघि जिउँदो ब्वायलर कुखुराको प्रतिकिलो मूल्य रु २७० रहेको थियो । मूल्य निकै पाएपछि कुखुरा व्यवसायी र अन्य व्यवसाय गर्नेले पनि खाली खोर भाडामा लिएर चल्ला राख्न थालेपछि उत्पादन बढेको हो ।

पछिल्लो समय कुखुराको दानामा प्रयोग हुने मकै र भटमासको मूल्य पनि निकै बढेको छ । रु २१ प्रतिकिलोको मकै रु २८ र रु ६० को भटमास रु ७० पुगेको पोखरेलको भनाइ छ । जसले गर्दा दानाको मूल्यसमेत बढ्ने र किसान मारमा पर्ने देखिन्छ । नाकाबन्दी, भूकम्प, बर्डफ्लू जस्ता समस्याले कारण पोल्ट्री व्यवसायमा समय समयमा नोक्सान पुर्याउँदै आएको छ । यस्तो समयमा साना किसान मारमा पर्ने गरेका छन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?