मेहेनत गरे नेपालकै माटोमा सुन फलाउन सकिन्छ भन्ने गतिलो सन्देश दिदै कृषीमा युवा जोस

प्राङ्गारिक तरकारी खेती

रामेछाप ।

रामेछापको खाँडादेवि गाउँपालिका वडा नं. ३ सित्खामा चार जना युवा मिलेर संयुक्त टमाटर खेती सुरु गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएका र रोजगारीका लागि भौँतारिरहेका युवाहरु मिलेर संयुक्त टमाटर खेती सुरु गरेका हुन् ।

रामेछापको खाँडादेवि गाउँपालिका वडा नं. ३ सित्खाका रमेश लामा धेरै पैसा कमाउने सपना बोकेर कतार पुगे तर त्यहाँ भने जस्तो कमाई नभएपछि गाउँमै आएर केही गर्ने सोच बनाएर घर फर्किए । यता अक्ष कुमार खत्री पैसा कमाउनकै लागि विदेश जाने चक्करमा थिए ।

रमेश लामा कतारबाट घर फर्किएपछि अक्ष कुमारको विदेश जाने सोच बदलियो र चारजना युवाहरु मिलेर ‘मिलीजुली कृषि तथा पशुपञ्छी फार्म’ दर्ता गरि संयुक्त टमाटर खेती सुरु गरे । ३५ रोपनी जग्गा १५ वर्षको लागि भाडामा लिएर टमाटर खेती सुरु गरेका युवाहरुले पहिलो चरणमै १६ लाख रुपैयाँ र दोस्रो चरणमा २० लाख गरी ३६ लाख आम्दानी गर्न सफल भएका छन ।

स्थानीय सहकारीबाट २० लाख रुपैयाँ ऋण लिएर ३२ लाख रुपैयाँको लगानीमा सुरु गरिएको टमाटर खेतीले पहिलो र दोस्रो चरणमै राम्रो आम्दानी गर्दै ऋण चुक्ता गरेपछि युवाहरु उत्साहित भएका छन् ।

विना विषादी,गाई वस्तुको मल प्रयोग गरेर उत्पादन गरिएकाले टमाटर टिपेपछि पनि लामो समयसम्म नकुहिने भएकाले बजारको माग समेत बढेको छ ।

विदेशमा गर्ने दुःख आफ्नै गाउँमा गर्ने हो भने विदेशको जतिनै कमाई गर्न सकिने युवाहरुको भनाइ छ । सरकारले कृषि क्षेत्रमा गरेको लगानी दुरुपयोग भइरहेको भन्दै, सरकारले अनुदान भन्दा आपूmहरुलाई ऋण दिए पुग्ने उनीहरु बताउछन् ।

अहिले ८ जनालाई रोजगारी दिइरहेको टमाटर खेतीलाई नमूना फार्मको रुपमा विस्तार गरि ३० जना सम्मलाई रोजगारी दिने लक्ष्य रहेको छ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments