यस वर्ष गहुँ उत्पादनमा वृद्धि : पर्सामा १६ करोडको गहुँ उत्पादन

वीरगञ्ज। पर्सामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको छ ।

जिल्लाको कूल खेतीयोग्य जग्गामध्ये २६ हजार ५०० हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलब ३ मेट्रिकटनका दरले ८५ हजार ९६५ मेट्रिकटन गहुँ उत्पादन भएकोे कृषि ज्ञान केन्द्र वीरगञ्जले जनाएको छ ।

केन्द्रका अघिल्लो वर्षको तुलनामा यसवर्ष जिल्लामा रु. १६ करोड २० लाख ८३ हजार १०० मूल्य बराबरको पाँच हजार २१० मेट्रिकटन बढी गहुँ उत्पादन भएको छ ।

किसानहरुले गहुँखेती गर्दा उन्नत जातको बीउ प्रयोग गरेको, समयमै सिँचाइ सुविधा उपलब्ध भएको र समयमै मल खाद्य उपलब्ध भएकाले गत वर्षभन्दा यसवर्ष पाँच हजार २१० मेट्रिकटन बढी गहुँ उत्पादन भएको बाली विकास अधिकृत सुरेशकुमार चौरसियाले बताए ।

अघिल्लो आर्थिक वर्षमा जिल्लाका किसानले २६ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती गरेकोमा ८० हजार ६०० मेट्रिकटन गहुँ उत्पादन गरेको थियो । सो आर्थिक वर्षमा प्रति हेक्टर तीन दशमलव एक मेट्रिकटनले गहुँ उत्पादन भएको थियो । धानखेती भन्दा बढी आम्दानी गहुँखेती गरेर लिने गरेकाले पर्सामा ८५ प्रतिशत किसान गहुँखेतीमा संलग्न भई आर्थिक लाभ लिन थालेका छन् ।

जिल्लामा यसवर्ष किसानले विजय, एनएल ९७१ र श्रीराम ३०३ जस्ता उन्नत जातका गहुँबाली गरेका छन् । उनीहरुले उत्पादन गरेका गहुँमध्ये ५० प्रतिशत विक्री गर्ने गरेको र बाँकी वर्षभरी आफैँ खानको लागि राख्ने गरेको बताइएको छ ।

जिल्लाका किसानले यसवर्ष दलहन बालीतर्फ तीन हजार ६१० हेक्टरमा मसुरो खेती गरी पाँच हजार ७७६ मेट्रिकटन उत्पादन गरेको छ भने ९० हेक्टर क्षेत्रफलमा खेसारीको खेतीगरी १६२ मेट्रिकटन उत्पादन गरेको छ ।

यसैगरी पाँच हेक्टर क्षेत्रफलमा गरिएको राजमा १४ मेट्रिकटन उत्पादन भएको छ भने १५ हेक्टर क्षेत्रफलमा गरिएको रहरखेतीबाट १५ मेट्रिकटन उत्पादन भएको केन्द्रले जनाएको छ । किसानले उत्पादन गरेको गहुँ सङ्घीय सरकारले प्रति क्वीन्टल तीन हजार १११ समर्थन मूल्यमा खरिद गर्न थालेपछि यहाँका किसान आर्थिक लाभ लिन थालेका छन् ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments