दाना उद्योग र अन्न भण्डारण भवन बन्ने

सर्लाही: वाग्मती नगरपालिका– ८ शङ्करपुरमा दाना उद्योग निर्माण गरिने भएको छ ।

शङ्करपुरमा करीब रु एक करोडको लागतमा दाना उद्योगको निर्माण गरिने भएको हो। स्थानीय किसानको व्यावसायिक पशुपालनमा लागत कम गर्न उद्योग सञ्चालन गर्न लागिएको नगर प्रमुख भरतकुमार थापाले बताए ।

उद्योग स्थापनाको पहिलो चरणमा सङ्घीय सरकारबाट नगरपालिकामार्फत रु ५० लाख र साना किसान कृषि सहकारी संस्था लिमिटेड शङ्करपुरबाट रु ५० लाख गरी जम्मा रु एक करोडको लागत साझेदारीमा आगामी असार १५ गतेभित्र कम्पाउण्ड वाल र फुटपाथ निर्माण गरिने संस्थाका प्रबन्धक माधव काफ्लेले जानकारी दिए ।

दाना उद्योग निर्माणका लागि कूल लागत रु पाँच करोड ९३ लाख ९७ हजार ११० लाग्ने अनुमान गरिएको प्रबन्धक काफ्लेले बताए। सोका लागि सङ्घीय सरकारबाट ५० प्रतिशत अनुदान, नगरपालिकाको कृषि कार्यक्रमबाट २५ प्रतिशत र बाँकी २५ प्रतिशत रकम समुदायबाट शेयर आह्वान गरी उद्योग निर्माण गरिने प्रबन्धक काफ्लेले बताए ।

निर्माण हुन लागेको उक्त उद्योगमा प्रतिघण्टा पाँच टन तयारी दाना उत्पादन हुने संस्थाले जनाएको छ। कृषि जोनका रुपमा रहेको वाग्मती नगर क्षेत्रमा मकै, गहुँ, आलुलगायतका अन्नबाली अत्यधिकमात्रामा उत्पादन हुने गरेको छ। उत्पादन भएको अन्नबाली किसानले थोरै मूल्यमा खेतैबाट बेच्नुपर्ने बाध्यता खेप्दै आएका थिए। उद्योग सञ्चालनपछि यस क्षेत्रका किसानले उत्पादन गरेका मकै, धान गहुँलगायतका बालीले मूल्य पाउने र पशुपालन गर्ने किसानले दाना खरीदमा मूल्य कम हुने अपेक्षा गरेका छन् ।

त्यसैगरी, वडा नं ५ मा करीब रु एक करोड ५० लाखको लागतमा अन्न भण्डार पनि भवन निर्माण गरिने भएको छ। स्थानीय किसानले उत्पादन गरेको कृषिउपज भण्डारण गर्ने गरी भवन तयार गर्न लागिएको नगर प्रमुख थापाले बताएका छन् । –रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments