स्वदेशी तरकारीको माग बढेपछि खेती विस्तार

झापा: पोहोर साल बन्दाबन्दीमा भारतबाट तरकारी आयात रोकिँदा झापाको माग धानेको मामा-भाञ्जा कृषि फार्मले यसपालि उत्साहित भएर तरकारी खेती विस्तार गरेको छ ।

अर्जुनधारा नगरपालिका–८ मा १५ बिघा जग्गा लिजमा लिएर दुई वर्षअघि तरकारी खेती शुरु गरेको फार्मले गत वर्ष कोभिड–१९ को महामारीमा तरकारीको माग अत्यधिक भएपछि उत्पादन बढाउन खेती विस्तार गरेको हो। भद्रपुरको दुई स्थान र मेचीनगरमा विस्तार गरिएको फार्ममा टमाटर, बोडी, करेला, भिन्डी, फर्सी, सिमी, खुर्सानीलगायतका तरकारी फल्न थालिसकेको मामा-भाञ्जा कृषि फार्मका सञ्चालक अनिल पौडेलले बताए ।

“स्वदेशी उत्पादनले नै स्थानीय माग धान्न सकियोस् भनेर यसपालि हामीले उत्पादनलाई तेब्बर पार्ने लक्ष्यका साथ काम गरिरहेका छौँ”, सञ्चालक पौडेलले भने। उनका अनुसार भद्रपुर नगरपालिका–४ मा भद्रपुर गौशालाको स्वामित्वमा रहेको १६ बिघा जग्गा फार्मले सात वर्षका लागि लिजमा लिएर तरकारी फलाएको छ। भद्रपुर–१० स्थित प्रदेश प्रशिक्षण केन्द्र कलबलगुडीमा सरकारी स्वामित्वमा रहेको २० बिघा जग्गासमेत यसपालि मामा-भाञ्जा कृषि फार्मले लिजमा लिएर उत्पादन शुरु गरिसकेको छ ।

यसैगरी मेचीनगर–११ को १५ बिघा र अर्जुनधारा–८ को १५ बिघा गरी कूल ६६ बिघा जग्गामा मामा-भाञ्जा कृषि फार्म विस्तारित भइसकेको छ। निजी क्षेत्रबाट सञ्चालित यो सबैभन्दा ठूलो तरकारी उत्पादक कृषि फार्म हो। भारतबाट आयातित सागसब्जी विषादीको मात्रा नजाँची भित्रिने गरेको र त्यसबाट स्वास्थ्यमा समस्या आउने आशङ्का बढेका कारण जिल्लाका सर्वसाधारण स्वदेशी तरकारीको उपभोगप्रति आकर्षित बनेका छन् ।

फार्मले एक दर्जन जति साना गाडीमार्फत जिल्लाका सबै पालिकामा उपभोक्ताको टोलमै ताजा तरकारी बिक्रीका लागि पुर्याउने गरेको छ। फार्मले कृषिविज्ञ राखेर तरकारी खेतीमा मल, गोडमेल र किटनाशक औषधिको प्रयोग गर्दै आएको छ। यहाँबाट थोक तथा खुद्रा दुवै प्रकारले तरकारी बिक्री गर्दै आएको छ ।

यसै सिजनमा ३० हजार टन स्क्वास फर्सी फलाएर बजारमा बिक्री गरेको सञ्चालक पौडेलले बताए। यही सिजनमा तीन सय ५०० केजी टमाटर र पाँच हजार केजी बोडी बिक्री भइसकेको छ। वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै पौरख गर्ने सोचका साथ शुरु गरेको फार्मका सञ्चालक युवा उमेरका छन्। उहाँहरु कार्य विभाजन गरेर खेती स्याहार्ने र बिक्रीका लागि बजार खोज्ने काममा आफैँ खटिने गर्नुभएको छ। हालसम्म फार्मका लागि सरकारी अनुदान नलिएको पौडेलले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?