‘मेहेनत नै सफलताको राज हो’ ! कागती खेतीबाट वर्षिक सात लाख आम्दानी

व्यावसायिक खेती

कवासोती । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ८ रानीटार निवासी किसान नरेन्द्र कुमार केसीले कागती खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

उहाँले पाँच वर्षअघि कागती खेती सुरु गर्नुभएको थियो । खेती सुरु गरेको दुई वर्षपछि उत्पादन दिन सुरु गरेको हो । कागती खेतीबाट उहाँले सबै खर्च कटाएर वार्षिक रुपमा सात लाख रुपिँया आम्दानी गर्दै आएको बताउनुभयो । वार्षिक करीब डेढ लाख रुपिँया लगानी लाग्ने गरेको उहाँले जानकारी दिनुभयो । लगानीको तुलनामा कागती खेतीबाट नाफा बढी हुने उहाँ बताउनुहुन्छ । ‘खर्च कम , मलजल पनि थोरै भए पुग्ने, मिहिनेत पनि कम लाग्ने, आम्दानी भने राम्रो हुने भएकाले कागतीखेतीतर्फ यहाँका किसान आकर्षित भएका छन् । ’ केसीले भन्नुभयो ।

उहाँले यस अघि तरकारी खेती र केरा खेती गर्नुभएको थियो । तर , जंगलको नजिकै जग्गा हुँदा बाँदर अन्य जंगली जनावारले आएर नोक्सान पु¥याउने, आम्दानी पनि सोचेजस्तो नहुने र विषदीको बढि प्रयोग गर्दा स्वास्थ्यमा समेत असर पर्नेहुँदा कागती खेती सुरु गरेको उहाँले बताउनुभयो ।

चार कठ्ठा जग्गामा उहाँले सुन जातको कागती लगाउनुभएको छ । ठूलो ८५ र सानो २५ बोट गरि उहाँको बगैँचामा अहिले कागतीको ११० बोट छन् । यी बोटबाट वार्षिक ५५ क्वीन्टलसम्म कागती उत्पादन भएको केसीले जानकारी दिनुभयो । यी बोटमा बाह्रैमासे फल लाग्ने गरेको छ ।

सुन कागती एक जातको कागती पहाडमा फल्ने कागती जस्तै हुन्छ । यो कागतीको बजार पनि राम्रो रहेको छ । उत्पादन जति भएपनि बजारीकरणमा समस्या नभएको केसी बताउनुहुन्छ । नारायणगढ , काडमाण्डौँ लगायतका मुख्य सहरमा कागतीको खपत हँुदै आएको छ । व्यापारीहरु गाडी लिएर घरमै आउने गर्छन् । जसले गर्दा बिक्री गर्न पनि झन्झट नहुने उहाँको भनाई छ ।

केसीले अहिले कागतीको नर्सरी समेत सुरु गर्नुभएको छ । प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना सुन्तला जात फलफूल जोन कार्यक्रम अन्तरगत उहाँले यसै वर्षबाट नर्सरी सुरु गर्नुभएको हो । कागती खेतीलाई नै आफ्नो मुख्य पेशा बनाएकाले अन्यत्रबाट महङ्गोमा विरुवा खरीद गर्नुभन्दा आफैँले मिहिनेत गरेर विरुवा उत्पादन गर्दा सहज हुने र अन्य किसान समेत लाभान्वित हुने भएकाले आफूले नर्सरी समेत सुरु गरेको उहाँले बताउनुभयो ।

परियोजनाको ८५ प्रतिशत र जनसहभागिता १५ प्रतिशत गरी १० लाख रुपिँया लागतमा दुई वटा नर्सरीको घर निर्माण गरिएको छ । परियोजनाको ७ लाख ५० हजार र जनसहभागिता दुई लाख ५९ हजार रुपिँया लागतमा नर्सरी सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई पूर्वी नवलपरासीका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

नर्सरीमा सुन कागती एक र दुईको विरुवा उत्पादन गरिने छ । वार्षिक रुपमा ३० हजार कलमी विरुवा उत्पादन गर्ने लक्ष्य रहेको शर्माले बताउनुभयो । आगामी वर्षबाट नर्सरीमा विरुवा उत्पादन तयार हुने उहाँले बताउनुभयो । कागती खेतीतर्फ यहाँका किसान निकै आकर्षित हुँदै गएकाले विरुवा समेत पु¥याउन गाह्रो भईरहेको उहाँ बताउनुहुन्छ । बाहिरबाट विरुवा ल्याउँदा महङ्गो पर्ने , कहिले राम्रो नपर्ने , मर्ने लगायतका समस्या भएको कारण परियोजनाले किसान मार्फत् जिल्लामै नर्सरी सुरु गरेको उहाँले बताउनुभयो ।

सुन्तला जात फलफूल जोन कार्यक्रम मार्फत यहाँ बुलिङटार, बौदिकाली, गैँडाकोट, हुप्सेकोट, देवचुली र मध्यविन्दुका केही वडाहरुमा जोन कार्यक्रम संचालनमा रहेको छ । यहाँ तल्लो भेगमा सुनकागती १ , २ र पहाडमा तेह्रथुम स्थानीय जातको कागती लगाउने गरिएको छ । जिल्लामा करिब दुई सय हेक्टर क्षेत्रफलमा व्यवसायीक कागती खेती हुने गरेको प्रमुख शर्माले बताउनुभयो । – गोरखापत्र अनलाइन

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments