बगर खेतीमा बाढी पस्दा लाखौँको क्षति

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले बगरमा लगाएको तरकारी बाली स्याली नदीमा आएको बाढीले बगाउँदा लाखौँको क्षति भएको छ । चुरे क्षेत्रमा भएको वर्षाका कारण शुक्रबार नदीमा एक्कासी बाढी आएपछि किसानले बगरमा लगाएको तरकारी बगेको हो । नदीको बगरमा काँक्रा, लौका, तरभुजा, फर्सीलगायतको झण्डै रु १० लाख मूल्य बराबरको तरकारी बगेर किसानले घाटा व्यहोर्नुपरेको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए ।

“तराई क्षेत्रमा थोरै मात्र पानी परेकाले किसानले नदीमा बाढी आउने कल्पनासमेत गरेका थिएनन्”, उनले भने, “चुरे क्षेत्रमा निकै पानी परेको रहेछ । एकाएक नदीमा बाढी आयो । किसानले तरकारी टिप्न नपाउँदै पूरै बारी नै तहसनहस भयो । किसानले निकै घाटा व्यहोरेका छन् ।”

बगरखेतीमा संलग्न १२ जना किसानको तरकारी बाली बगेको छ । “कोरोनाको सङ्क्रमण उच्चरूपमा फैलिन थालेपछि गरिएको बन्दाबन्दीका कारण बजारमा लगेर तरकारी बेच्न नपाउँदा निकै चिन्तित थियौँ”, स्थानीय किसान बिलबहादुर चौधरीले भने, “जेठको पहिलो सातामै नदीमा बाढी आउँछ भन्ने कल्पना नै गरेका थिएनौँ । बाढी आयो । सबै तरकारी बगाएर लग्यो । वर्षभरिको खर्च बगर खेतीबाट चल्थ्यो । त्यो सबै बाढीले बगायो ।” परिवारको खर्च कसरी जुटाउने पिरलो रहेको उन्ले बताए ।

बगरमा खेती गर्ने अधिकांश किसानले गाउँकै समूहबाट कर्जा लिएका छन् । प्रतिकिसानले रु एक लाखदेखि रु तीन लाखसम्म बगर खेतीबाट आम्दानी लिँदै आएका थिए । गत वर्षसमेत बन्दाबन्दीका कारण बगर खेतीमा उत्पादित तरकारी बजारमा बेच्न नपाउँदा किसानले घाटा व्यहोरेका थिए । बगरमा उत्पादित तरकारी बेच्नका लागि तयार भएकै बेला टिप्न नपाउँदै बगेपछि किसान निकै निराश बनेका छन् । हेर्दाहेर्दै आँखा अगाडि नै मेहनत गरेर लगाएको तरकारी बाली बाढीले बगाएर लग्दा केही सङ्कलन गरे पनि अधिकांश तरकारी बगेर गएको सीता चौधरीले बताए।

“बगर खेतीबाटै खर्च चल्थ्यो । त्यो सबै नदीको बाढीले लग्यो”, उनले भने, “नदीको बाढीको पानी घटे पनि पूरै तरकारीका बोट बालुवाले पुरेर गएको छ । बोटमा लागेको तरकारी बग्यो । निकै नोक्सानी भयो ।” हल्दुघाट सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष चेतराज चौधरीका अनुसार बगर खेतीमा संलग्न १२ किसानले १० बिघामा लगाएको बगर खेती नष्ट भएको छ । बगर खेतीमा यहाँका किसानले स्याली र सनवोरा नदीको बगरमा खेती गर्दै आएका छन् । बगर खेतीमा झण्डै १०० बढी परिवार संलग्न छन् ।

एक दशकदेखि यहाँका किसानले बगरमा तरकारी खेती गर्दै आएका छन् । भारतीय नागरिकले नदीको बगरमा खेती गरेर लाखौँ आम्दानी गरेको देखेपछि त्यसको सिको गर्दै यहाँका किसानले बगर खेती थालेका हुन् । स्थानीय किसान बगर खेतीमा संलग्न भएपछि भारतीयहरू विस्थापनमा परेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?