विपन्नलाई बिहान बेलुकाको छाक टार्नै मुस्किल

कैलालीः दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भएको छ ।

नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना सङक्रमणका कारण एक महिनादेखिको निषेधाज्ञाका कारण दैनिक ज्यालामा मजदुरी गरी बिहान बेलुकाको छाक टार्ने गरीब मजदुरका लागि समस्या भएको हो ।

दैनिक मजदुरी गरेर पाँच जनाको परिवारको जहान पाल्दै आएका धनगढी उपमहानगरपालिका–२ का स्थानीयवासी धनिराम चौधरीले निषेधाज्ञापछि काम नपाउँदा हिजोआज बिहान बेलुकाको छाक टार्नसमेत मुस्किल भइरहेको बताए । “निषेधाज्ञा भएको एक महिनाभन्दा बढी भइसक्यो, अझै कति लम्बिने हो कुनै निश्चित छैन”, चौधरीले भने, “हामी दैनिक मजुदरी गरेर आजै कमाएर आजै खानुपर्ने बाध्यता भएकालाई परिवार पाल्न निकै धौधौ भएको छ ।”

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा लम्बिँदै जाँदा दैनिक ज्यालामा मजदुरी गर्ने तथा विपन्न परिवारलाई गुजारा चलाउन कठिन भएको हो । निषेधाज्ञाका कारण काम नपाउँदा आम्दानीको स्रोत नहुने भएकाले घरपरिवार पाल्न समस्या भएको धनगढी–२ कै हर्कबहादुर नेपालीले दुखेसो गरे ।

गत वर्ष विपन्न परिवार तथा मजुदरका लागि भन्दै स्थानीय सरकार, प्रदेश सरकार तथा विभिन्न सहयोगी सङ्घसंस्थाले खाद्यान्न तथा राहत सामग्री वितरण गरेकाले केही राहत भएको थियो तर यस पटक भने कहीँ कतैबाट पनि नपाएको उनको भनाइ छ । “बन्दअघि काम गरेर बचत गरेको सबै पैसा खर्च भइसक्यो, अब त घरमा खाने चामल, दाल पनि सकिइसकेको छ, परिवारमा कमाउने मान्छे म एक्लै हूँ, छ जनाको परिवार पाल्न निकै गाह्रो भएको छ”, उनले भने ।

त्यस्तै धनगढीको ट्राफिक चोक साइडमा सडकपेटीमा पसल राखेर जुत्ता, चप्पल सिलाई जीविकोपार्जन गर्दै आएका धनगढी, विशालनगरका दलबहादुर सार्कीले पनि निषेधाज्ञाले लामो समयदेखि गर्दै आएको परम्परागत पेशा एक महिनादेखि ठप्प भएकोले खर्च जुटाउनै सकस भएकोे समस्या दोहो¥याए ।

उनले निषेधाज्ञापछि आफ्नो व्यवसाय पूर्णरूपमा ठप्प भएपछि परिवारको लालनपालनका साथै औषधि उपचार गर्न समेत अप्ठ्यारो भएकोे बताए । एक महिनादेखिको निषेधाज्ञाका कारण औद्योगिक, यातायात, निर्माण तथा बजार क्षेत्रमा काम गरेर खाने मजदुर बढी प्रभावित भएका छन । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?