भेडासँग जीवन बिताएका मनबहादुरको कथा

बझाङ।

हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्ष पुगे । हातमा चुरोट सल्काउँदै ४० वर्ष अगाडि बझाङ सदरमुकाम चैनपुर सम्झदै उनले भने, “चैनपुरमा औँलामा गन्ने घरहरु थिए ।”

चैनपुरमा पाठा लिएर आउँदा, पाठा देउ जग्गा लेउ भन्थे, के गर्ने त्यो बेला भेडा, बाख्रालाई हामीले ठूला मान्यौ, त्यो बेला वुद्धि भएन, नत्र जग्गासँग पाठा साटेको भए, आधा चैनपुर हुन्थ्यो होला ।” उनका अनुसार त्यतिबेला चैनपुरका धनी भनेकै हरिसाहु थिए । उनका दुई वटा घर थिए । उनलाई एक भेडा ५० रुपैँय देखि एक सयसम्ममा बिक्री गथ्र्यौ । लाग्छ त्यतिबेलाको एक सय ठूलो थियो । अहिले १ सय ५० भेडा बिक्री गरेपछि १९ देखि २० लाख रुपैयाँ आउँछ, त्यसले पनि केही हुँदैन् ।

त्यतिबेला गाउँमा स्कुल थिएन । पढ्नु पर्छ भन्ने थाहा पनि भएन । १२ वर्षको उमेरमै भेडासँग हिड्न लागेका हामी दुई दाजुभाई भेडासँगै जिवन विताउन थालेको मनबहादुरले भने, “म हुम्लाबाट बझाङ आउँदा शुरुमा १८ पाठा थिए । हुदाँहुँदै कुनै बेला ११ सय बाख्रा, खसी, भेडाका छुट्टाछुट्टै गोल र आठ/नौ जना ग्वाला (हेर्ने मान्छे), साथमा तीन-चार वटा कुकुर पनि थिए । धनगढी र महेन्द्रनगर, डडेलधुरालगायतका ठाउँबाट सामान ल्याउँथे । त्यतिखेर यातायातका साधन भनेका नै भेडा, बाख्राहरु थिए ।”

खच्चर धेरै समयपछि आएको महतको भनाइ छ । उनले भने, “त्यतिबेलाको जमना थियो । भेडामा सामान हुन्थ्यो । गाउँ नजिकै बाटोमा डेरा बसाल्थ्यौं । गाउँले दाजुभाइहरुले माया गर्थे । अहिले भेडावाला भन्ने बित्तिकै गाली गर्छन् । अब त बुढो भयौं, तागत छैन । हिड्दा हिड्दै खुट्टा लट्पटिन्छन् । अब सकिदैन, विस्तारै घटाउनु पर्यो ।” हुन त भेडाकै खर्चबाट छोरा अफितलाई डिग्री पढाएको बताउने उनले छोरा अमेरिका जाँदा नौ लाख पठायौं, अहिले छोरा अमेरिकामा नै रहेको उनको भनाइ छ ।

“छोराले उतै विवाह गर्यो”। उनले भने, “उ पनि फोन गरेर कहिले काँही भेडा बेचेर घर आउँ भन्छ । घरपरिवार सबैलाई भेडाकै खर्चबाट पालन पोषण गरे । अहिले पनि घरमा ११ जनाको परिवार छ । श्रीमती बितेको भने केही वर्ष भयो । आफ्नो जिन्दगी भने दुःख गर्दै खायो ।

उहिलेका दुःख सम्झदा छोराछोरीलाई सुख छ, तागत छैन, सम्पति देख्दा माया लाग्छ, मलाई एक भेडा बेच्दा पुगिहाल्यो, आफूलाई नपुग्या छोराछोरीलाई देउ भन्नु, अब एकचोटी मर्नुभन्दा अगाडी अमेरिका घुम्ने मन छ । छोराले पनि अमेरिका लिन्छु भन्या छ । तर क्या अर्नु (के गर्नु ) देशभरी यस्तै छ । मान्छे माहामारीका कारण घान हुन लाग्याका छन् (धेरैको संख्यामा मर्न लागेका) । बाँच्या पछि अमेरिका हेर्न जान्या रहर थियो । न तत्र सकियो ।” रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?