धान बालीमा फड्के किराको प्रकोप, बाली पहेँलो भएर सुक्न थालेको किसानको गुनासो

खोटाङ : खोटाङको रावाबेँसी गाउँपालिकाका किसानले रोपेको धान बालीमा फड्के किरा (राइस होपर)को प्रकोप फैलिएको छ।

रावाबेँसी गाउँपालिका–१ कुभिण्डेको आम्बोटेटार, रावाबेँसी गाउँपालिका–२ खार्पाको खार्पाटार, रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीको कटहरे, रावाबेँसी गाउँपालिका–६ हौंचुरको हौंचुरबेँसी लगायतका रावा खोला किनार आसपासका खेतमा रोपिएको चैते धान बालीमा फड्के किराको प्रकोप फैलिएको हो।

सुरुमा डुम्रेधारापानीको बेँसी क्षेत्रमा पर्ने कटहरेमा पसाउने बेलाका धान बाली पहेँलो हुँदै जाने र मर्ने समस्या देखिएको जानकारी आएपछि कृषि प्राविधिक पठाएर समस्याको कारण फड्के किरा भएको पहिचान गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मुगाधन राईले बताए। कटहरेमा धान पहेँलो हुँदै जाने र मर्ने समस्याको बारेमा गाउँपालिकालाई जेठ २० गते किसानले जानकारी गराएका थिए। कटहरेमा फड्के किराको कारण धानको बोट मर्न थालेको जानकारी आए लगत्तै अन्य ठाउँबाट पनि धानमा फड्ने किराको प्रकोप फैलिएको बारेमा जानकारी आउन थालेको गाउँपालिकाले जनाएको छ।

फड्के किराको आक्रमणका कारण हालसम्म करिब १५० बिगाहाभन्दा बढी क्षेत्रको धान बाली पहेँलो भएर सुक्न थालेको किसानको गुनासो छ।

रावाबेँसी गाउँपालिकाको बीचबाट बग्ने रावा खोला आसपासका खेत धान उत्पादनका लागि जिल्लामै चर्चित छ। खोला किनारका फराकिला फाँटमा उत्पादन हुने धानबाट स्थानीय किसानको जिविका चल्दै आएको छ। रावा खोला आसपासमा उत्पादन भएको धान जिल्लाका दिक्तेल, बाक्सिला लगायतका स्थानीय बजारमा पुग्ने गरेको छ। तर, मुख्य बालीका रुपमा रोपिएको धानमा फड्के किराको प्रकोप फैलिएपछि किसान चिन्तित छन्। फड्के किराले धानको गाँजमा बसेर चुस्न थालेपछि बोट पहेँलो हुँदै जाने र मर्ने गरेको कृषि प्राविधिकको भनाइ छ।

फड्के किरा उफ्रेर वा उँडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने गरेकाले यसबाट धान बाली बढी जोखिममा पर्ने गरेको किसानको भनाइ छ। रावाबेँसी गाउँपालिकामा विगतका वर्ष पनि फड्के किरा लाग्ने गरेको भए पनि यसपल्ट महामारीका रुपमा देखा परेको हो।

धान बालीमा फैलिएको फड्के किरा नियन्त्रणका लागि विषादि वितरण गरेर प्रभावित क्षेत्रमा छर्न सुरु गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?