टिमुर खेति विधि तथा फाइदाहरु

व्यावसायिक टिमुर खेती

टिमुर (Nepali Pepper/Sichuan Pepper), नेपालीको पहाडी भेग ९०० देखि २५०० मिटर उचाइमा पाइने मिठो बास्ना र स्वाद हुने एक लोकप्रिय मसलाको स्रोत हो। यो २ देखि ६ मिटरसम्म अग्लो हुने पतझर, काडेदार सुगन्धित झाडी वर्गको वनस्पतिमस चिनिन्छ।

यसको फल ४ देखि ५ मिलिमिटर व्यास भएको सानो र स्वादमा पिरो,टर्रो, जिब्रो पर्पराउने खालको हुन्छ। यसको फल मात्र नभई बोक्रा पनि हामीले उपभोग गर्न सक्छौं।

टिमुरका फाइदाहरु

-आयुर्बेदका अनुसार टिमुर वायुशमन गर्ने प्रकृतिको हुन्छ। यसको प्रयोग मुख्यतया दातँ दुखेको निको पार्न र तागत दिने औषधिको रूपमा गरिन्छ।

-आजकल टूथपेस्ट लगायत विभिन्न औषधिको लागि पनि चलाईन्छ।

-ज्योरो आउँदा, झाडापखाला र हैजाले सताउँदा यसको प्रयोग निकै उपयोगी हुन्छ।

-हाडजोर्नी दुख्दा, पेट दुख्दा लेक लाग्दा(high altitude) हुँदा टिमुर को सहायता लिन सकिन्छ।

-खानामा नियमित मिलाउँदा शरीरमा ताप दिनेहुदा चिसो मौसममा पनि निकै फाइदाजनक हुने गर्छ टिमुर।

हावापानी र माटो

यो धेरैजसो प्राकृतिक रूपमा महाभारत पर्वत श्रृङ्खलाको खुल्ला पाखामा पाईन्छ। यसको खेतीको लागि हिउँदमा ठण्डा र गर्मीमा न्यानो हुने उपोष्ण र शीतोष्ण हावापानी भएको क्षेत्र उत्तम हुन्छ। अन्य बालीको लागि उपयुक्त नहुने भिर पाखा बलौटे तथा पत्थरीलो माटोमा यसलाई लगाउन सकिन्छ। माटोको अमलिएपन ६.५-७.० भएको बलौटे माटो यसको लागि सबैभन्दा उपयक्त हुने गर्छ।

खेति गर्ने विधि

टिमुरको व्यावसायिक खेती खासै प्रचलित नभएतापनि यसलाई दुईवटा विधिबाट प्रसारण गरम सकिन्छ।

बिउबाट:
हुन त टिमुरको बीउको उमार क्षमता कम हुन्छ(१०-१५%) यसमा बढि उपयोगी कटिङ्गविधि बाट गर्न सकिन्छ। असोज-कार्तिक तिर पाकेका फललाई लठ्ठीले हानेर वा हातले टिपेर घाममा सुकाएर भण्डारण गर्नु पर्दछ। त्यसरी संकलन गरेको बिउलाई फाल्गुन-चैततिर खनजोत गरी तयार पारिएको नर्सरी ब्याडमा छरेर बिउ उमारिन्छ। एक हेक्टर जग्गाको लागि ५०० ग्राम बिउ आवश्यक हुन्छ।

नर्सरी विधि:
पूर्व पश्चिम लम्बाई भएको ब्याडहरु जसमा १४ सेन्टिमिटर उचाई, चौडाई १ मिटरमा आवश्यक अनुरूप लम्बाई भएको छाहारी बनाई १० सेन्टिमिटरको फरकमा लाइन बनाएर रोप्नु पर्छ। बिउ रोप्नु अगाडि चौबीस घण्टासम्म मन तातो पानीमा डुबाएर रोप्दा राम्रो हुन्छ। बीउ ब्याडमा हल्का माटो छोपिदिएर परालले पातलो गरी छोपिदिनु पर्दछ र बेर्ना उम्रिन थालिसकेपछि पराललाई हटाएर अर्को ६०-८० सेन्टिमिटर जति अग्लो छहारी दिनु उत्तम हुने गर्छ।

सामान्यतया एक वर्ष भएको बिरुवा रोप्नको लागि राम्रो मानिन्छ तर पनि बिरुवा १५ से.मि. जति भए पछि रोप्न सकिन्छ।

डाठको कटिङ्गबाट
माघ फाल्गुणमा २-३ से.मि.व्यास भएको र ३ वटा आँख्ला भएको काण्ड राम्रो हुन्छ। छिप्पिएको डाँठलाई १५ से.मि.लामो काटेर नर्सरीमा तयार पारिएको प्लास्टिकको थैलामा वा ब्याडमा तेर्सो पारेर रोपिन्छ। कटिङ्ग राख्दा डाँठलाई रुट हर्मोनको झोल(२-३%)मा डुबाएर राख्दा राम्रोसँग सर्दछ।यसरी तयार पारिएको बिरुवा ३-४ महिनामा रोप्न को लागि तयार हुन्छ।

बिरुवाको रोपण
सामान्यतः श्रावण भाद्रतिर मनसुन सुरु भएपछि १.५-३ मिटरको खाली ठाउँ छानेर ३० से.मि. को गहिरो खाल्टो खनी त्यसमा छोपेर गोबरमल हाल्न सकिन्छ र पातपतिंगरले छोपडा राम्रो हुन्छ।

बिरुवा रोपिसकेपछि वर्षमा दुई तिनपटक गोडमेल गरिराख्नु पर्छ र बेला बेलामा गोबर मल राखी राख्नु पर्छ। साना साना बिरुवाको नजिक पानी जमेको नजमेको ख्याल गरिराख्नु पर्छ। रोपेको ३ ४ वर्षमा टिमुर फाल्ने गर्छ अझ कटिङ्ग बाट गरेको बोट मा छिटो र धेरै फल लाग्ने गरेको पाइन्छ।

सङ्कलन एबम् भण्डारण
टिमुरको फल रातो र परिपक्क भएपछि झर्नु अगावै असाेज कात्तिकको मध्यतिर सङ्कलन गरिन्छ। सङ्कलन गरिएका फलहरुबाट काँडा हटाई राम्ररी सुकाएर बोरामा कसेर सुख्खा ठाउँमा भण्डारण गर्नु पर्दछ। यसको फलबाट इस्टिम डिस्टिलेसन (steam distillation) विधि द्वारा सुगन्धित तेलको निर्माण गरिन्छ।

बजारीकरण
बजार प्रति किलो रु २५०-३०० पर्ने गर्छ,राम्रो तरिकाले फलाउन सकेमा एउटा बोटमा २-४ किलो टिमुर बनाउन सकिन्छ। नेपालमा वार्षिक सरदर १२०० के.जी. टिमुरको तेल उत्पादन हुन सक्ने अनुमान गरिएको छ। यसको बजारीकरणमा विस्तार ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण हुन अति आवश्यक छ जसले देशको आर्थिक वृद्धि र युवालाई रोजगार दिन सहयोग पुर्याउछ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments