पशुपालक किसानलाई दाना बनाउने र घाँस काट्ने मेसिन वितरण

टीकापुर: कैलालीको जानकी गाउँपालिकाले पशुपालक किसानलाई दाना बनाउने र घाँस काट्ने मेसिन वितरण गरेको छ ।

व्यावसायिकरूपमा पशुपालन गरिरहेका पालिकाभित्रका १६ किसानलाई ७५ प्रतिशत अनुदान सहयोगमा मेसिन वितरण गरिएको हो। गाउँपालिकाबाट अनुदानमा दाना बनाउने र घाँस काट्ने मेसिन पाएपछि पशुपालक किसान व्यवसायमा सहयोग पुग्ने बताउँछन् ।

जानकी–९ मूर्तियाका प्रकाश विक तीन वर्षदेखि बाख्रापालन गरिरकेका छन्। सत्र वटा बाख्राबाट व्यावसायिकरूपमा बाख्रापालन शुरु गरेका प्रकाशसँग अहिले ५६ बाख्रा छन्। गाउँपालिकाबाट दाना बनाउने र घाँस काट्ने मेसिन पाएपछि आफ्नो व्यवसायमा सहयोग पुग्ने उनले बताए ।

“अब बाख्राका लागि दाना बनाउने र घाँस काट्ने मेसिन पाएँ । अब समय व्यवस्थापनमा सहयोग पुग्छ”, विकले भने, “व्यावसायिक पशुपालनमा लागेकालाई यसले ठूलो राहत हुन्छ। हाम्रो समय व्यवस्थापन मात्र होइन, राम्रो उत्पादन लिन सकिने अपेक्षा गरेको छु।” विकले स्वदेशमै केही गर्न चाहने युवा, कृषि र पशु कर्ममा लागेकालाई स्थानीय सरकारको यस्तै सहयोग आवश्यक रहेको बताए ।

वडा नं ६ का जगत् साउदले पनि पाँच वर्षदेखि व्यावसायिकरूपमा बाख्रापालन गरिरहेका छन्। अहिले साउदको खोरमा ३५ बाख्रा छन्। गाउँपालिकाबाट दाना बनाउने मेसिन पाएपछि उनी पनि खुशी भएका छन्। “पाँच वर्षदेखि यही व्यवसाय गरिरहेको छु। घरमै बसेर व्यवसाय गर्दा घरकै सदस्यले काम गर्न सकिने भएकाले यो व्यवसाय सहज छ”, साउदले भने, “घाँस काट्ने मेसिन र दाना बनाउने मेसिन आवश्यक थियो। हाम्रो आवश्यकतालाई पालिकाले सम्बोधन गरेको छ ।”

तीन वर्षदेखि बाख्रापालन गरिरहनुभएका वडा नं ४ कञ्चनपुरका रेजिना कठरिया अब पालिकाको सहयोगपछि यो व्यवसायमा थप टेवा पुग्ने बताएका छन्। “पालिकाले कृषि तथा पशुपालनमा लागेकालाई राम्रो सहयोग गरेको छ”, कठरियाले भने, “यसले हामीलाई थप प्रोत्साहन मिलेको छ।” दाना बनाउने र घाँस काट्ने मेसिन वितरण गर्दै गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले पशुपालन गर्ने किसानलाई व्यवसायमा आकर्षण बढाउनका लागि गाउँपालिकाले सहयोग गरेको बताए ।

“हामी आगामी दिनमा पनि सहयोग गर्छौँ, कृषि र पशुपालनमा लगानी बढाउने हाम्रो नीति पनि छ”, अध्यक्ष चौधरीले भने, “कृषिमा लागेकाहरुले सहयोग नपाउने कुरै हुँदैन, हामी सबैखाले सहयोग गर्न तयार छौँ, यहाँहरुको माग आउनुपर्यो।” उपाध्यक्ष उमा महतोले व्यावसायिकरूपमा काम गरिरहेका किसानको आयआर्जन वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरेका छन् ।

“थप व्यवसाय विस्तार गर्न र आयआर्जन वृद्धिमा सहयोग पुग्नेछ”, महतोले भने, “अन्य युवालाई पनि यसले हौसला थप्नेछ।” पशु सेवा शाखा प्रमुख नरबहादुर कार्कीले शाखाबाट अनुदानमा वितरण गरिएका सामग्रीको सही सदुपयोग गर्न आग्रह गरे। “हामीले व्यवसाय गरिरहेकालाई सघाएका छौँ, मेसिन मात्र होइन, अन्य खाले सहयोगका कार्यक्रम पनि छन्। उपचारदेखि सबैखाले सहयोग गरिरहेका छौँ”, कार्कीले भने, “व्यवसाय थप फस्टाओस् भन्ने हो । हामी अनुगमन गर्छौँ ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?