कृषिमा भविष्य खोज्दै ताराखोला

आलु खेती

बलेवा: बर्खे आलु फल्ने ताराखोलामा यतिबेला किसानलाई भ्याइनभ्याई छ । बारीमा लगाएको आलु थन्काएर कोदो लगाउने काममा व्यस्त छन् किसान । यहाँका सबै किसान दिनभर बारीमा भेटिन्छन् । बागलुङको ताराखोला गाउँपालिका आलु उत्पादनका लागि निकै उर्वर मानिन्छ ।

‘आलु मीठो ताराखोलाको’ ताराखोलाकै स्थानीय गायिका खिमा रोका मगर र गलकोटे सर्जक वसन्त थापाले गाएको लोकगीतको थेगोले भनेको जस्तै ताराखोलाको आलु स्वादिलो हुने भएकाले यहाँका किसानले आलुको उत्पादन व्यावसायिक रूपमा नै गर्ने गरेका छन् । स्थानीय उत्पादनको प्रवर्द्धन, बजारीकरण र किसानलाई व्यावसायिक बनाउनका लागि ताराखोला गाउँपालिकाले योजना नै बनाएर लागेको छ । ताराखोला गाउँपालिकाले व्यावसायिक कृषिको उत्पादन बढाउने, बजारीकरण गर्ने र किसानलाई धनी बनाउने अभियानमा ५० प्रतिशत अनुदानको कार्यक्रम सञ्चालन गरेको छ । जसका कारण किसान थप उत्साहित भएका छन् ।

चालु वर्षको बजेट कार्यान्वयन र आगामी वर्षको योजना समेतमा उक्त लगानी र अनुदानको व्यवस्थापन गरेको हो । उक्त अभियानअनुसार व्यावसायिक आलुको उत्पादन गर्ने किसानका लागि अनुदान दिएको छ । चालु वर्ष छ हजार ३०० ओखरको बोट रोपेको छ । गाउँपालिकाले ५० प्रतिशत अनुदान दिएपछि करिमेला र लावाङमा ती बिरुवा रोपिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए ।

कृषिलाई व्यावसायिक बनाएर घरघरै उद्यमी बनाउने अभियान सफल पार्न ती बिरुवा वितरण गरेर उत्पादनका लागि हौसलासमेत दिएको अध्यक्ष घर्तीले बताए। अभियान सफल पार्न अनुदानमै अलैँची खेती विस्तार, प्लाष्टिक टनेल वितरण, बाख्रा फार्म सञ्चालन र पकेट क्षेत्र प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको उनले जानकारी दिए।

ताराखोलाकै पँधेराखोला र नाङीमा किवी पकेट क्षेत्र विस्तार गरिएको छ । आलु उत्पादन यहाँको नियमित र मुख्य बाली हो । ती सबै कृषि फसलको बजारीकरणका लागि सङ्कलन केन्द्र स्थापना, भातखाने डाँडा, करिमेला र अर्गलमा भण्डारण केन्द्र निर्माणको काम थालिएको घर्तीले बताए । ती केन्द्रमा गरिने भण्डारणका कारण किसानले समयअनुकूल उत्पादनको बिक्री गर्ने, बजार पठाउने र नाफा आर्जन गर्न सक्ने स्थानीयवासीले बताए ।

“सङ्कलन केन्द्र बनेपछि तत्काल बिक्री नहुने कृषिवस्तु बजार भाउ पाउँदा बेच्न पाइन्छ”, स्थानीयवासी नीता रोकाले भनिन्, “आलुको भने घरघरमै भण्डारण गरिएको छ ।” अघिल्लो वर्षको तुलनामा आलु उत्पादनसमेत बढिरहेको उनले बताए । “अहिले राम्रो मौसम चलेको छ भनौँ”, उनले भनिन्, “यहाँ फलेको आलु बजारबाट आएका व्यवसायीले आफ्नै गाडीमा राखेर लैजाने गर्नुभएको छ ।”

गाउँपालिकाले भने ५०० रोपनी जमीन खरीद गरेर सूचीकृत किसानमार्फत मल र प्रविधि दिएर थरीथरी उत्पादनको कार्यक्रम सञ्चालन गर्ने लक्ष्य अध्यक्ष घर्तीले सुनाए । उक्त योजनामा एक गाउँ एक उत्पादनका उद्यमी समेतलाई समावेश गरिने उनले बताए। भाडा र खरीदमार्फत गाउँपालिकाको स्वामित्वमा लिएको जमीनमा आलु र फापर खेती गरिने योजना छ । उक्त योजनामा सामूहिक काम गर्ने, तालीम गर्ने र प्रविधिको उपयोगबारे सबैले जान्न पाउने व्यवस्था गरिनेछ ।

गाउँपालिकाले उपयुक्त स्थानको खोजी गरिरहेको उपाध्यक्ष दिलकुमारी पुनले बताइन्। सामूहिक काम गरेपछि आउने उत्पादन र आम्दानीबाट कामदारलाई तलब दिने, कृषि कोष बनाउने र नयाँ किसान प्रवद्र्धनको योजनासमेत बनाइएको हो । नेपाल सरकारको आलु जोनसँगै तोकिएको स्थानमा पकेट क्षेत्र पनि सञ्चालन गर्न छलफल अगाडि बढिसकेको हो । तत्कालका लागि गाउँपालिकाले नागबेली खोला छेउमा यो जमीनको खोजी गरेको घर्तीले बताए।

आजलाई मात्र होइन भोलिको दिगो विकासको लक्ष्यलाई आधार बनाएर ‘कृषि, वन, खनिज, उद्यमशीलताका लागि सवल पूर्वाधार, समृद्धि र समन्यायिक ताराखोला विकासको मूल आधार’ भन्ने दीर्घकालीन सोच गाउँपालिकाले अघि सारेको छ । ताराखोलाले प्राकृतिक स्रोत तथा सम्पदाको व्यवस्थित उपयोग, मानवीय जनशक्तिको समुचित परिचालन र विद्यमान अवस्थामा समय अनुकूल प्रविधिको विकास गरेर कृषिमा व्यवसायिकीकरण गर्ने भनेको छ । ताराखोला गाउँपालिका प्रदेश राजधानी पोखरादेखि करीब १३६ किलोमिटर जिल्ला सदरमुकामदेखि ४५ किलोमिटर दूरीमा पर्छ ।

यहाँ उत्पादन भएका कृषि उपजहरुको बजारीकरणका लागि किसानका खेतबारीसम्म नै सडकको पहुँच विस्तारको योजना गाउँपालिकाले बनाएको अध्यक्ष घर्ती बताउँछन् । “हाम्रोमा विदेश जानेहरु धेरै छन्, त्यसपछिको मुख्य पेशा कृषि नै हो, यहाँका किसान आफ्नो कर्ममा निकै विश्वास र भरोसा गर्छन”, अर्गलका स्थानीयवासी महेन्द्र घर्तीले भने, “माटो सुहाउँदो बाली र बाली सुहाउँदो व्यवसाय हाम्रो आवश्यकता हो ।”

खाद्यान्न बाली मकै, कोदो, जौँ, गहुँ, फापर, धान आदि छन् भने आलु, मूला, लसुन, प्याज, केराउ, भटमास, भाँगो, अलैँची, किबीजस्ता नगदे बाली पनि व्यावसायिकरूपमा उत्पादन गर्ने कार्यको शुरुआत गाउँपालिकाले गरेको हो । चालू आवमा ताराखोलाका पाँच वडामा आलु ७१२, अलैँची तीन, भाँगो १६४, किबी २।५ मेट्रिक टन तथा ओखर १७० केजी उत्पादन भएको छ भने बाख्रा फार्म १३, भेडा फार्म चार, बङ्गुर फार्म पाँच, भैँसी फार्म छ, कुखुरा फार्म सात एवं तरकारी टनेल ८१ वटा सञ्चालनमा रहेका छन् ।

गाउँपालिकाले कृषि उपज सङ्कलन केन्द्र निर्माण गरिरहेको छ । “उत्पादन मात्रै ठूलो कुरा भएन, उत्पादनसँग आयआर्जन जोड्ने प्रयासमा छौँ”, उपाध्यक्ष पुन भन्छन्, “निर्माणाधीन कृषि उपज केन्द्र सञ्चालनमा आउँदा कृषि उपजको बजारीकरण सहज हुनेछ ।”

कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन गर्ने, फलफूलका बिरुवा रोपण कार्यक्रम सञ्चालन गर्ने, बाख्राको उत्पादन बढाउन पकेट विकास कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक नमूना कृषि तथा व्यावसायिक फार्म स्थापना गर्ने योजना गाउँपालिकाको छ । “श्रमको संस्कृति हाम्रोमा हराइसकेको छैन, आफ्ना लागि मात्रै होइन, व्यावसायिक हिसाबले श्रम गरौँ भन्ने मान्यताको विकास गर्दैछौँ”, गाउँपालिका अध्यक्ष घर्तीले भने । ताराखोला खनिज र खानीका हिसाबले समेत उर्वर भूभाग हो । लघुउद्यम विकासमा ताराखोलाले निकै ठूलो फड्को मारेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा बताउँछन् ।

स्लेट ढुङ्गा तथा अन्य खानीजन्य उद्योगको प्रवद्र्धन गर्ने, पर्यटन प्रवद्र्धनमार्फत स्थानीय उत्पादनको खपत खर्ने योजना गाउँपालिकाले बनाएको छ । मासु तथा दूध मिशन कार्यक्रम गाउँपालिकाले सञ्चालनमा ल्याएको छ । ताराखोलामा जन्मिएका पाडापाडी तत्काल बिक्री गर्न पाइँदैन । “दूध र मासुमा आत्मानिर्भर हुनका लागि पाडापाडी हुर्किनै पर्छ”, अध्यक्ष घर्तीले भने, “आम्दानी बढाउनकै लागि पाडा, बाख्रा, बङ्गुर तथा कुखुरा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ ।”

गाउँपालिका आफैँ उत्पादनसँग आबद्ध भई प्रयोगमा नआएको खेतीयोग्य जग्गा भाडामा लिई स्थानीय बाली आलु, फापर, कोदो, जौँ, मकै उत्पादन गर्ने नीति बनाएको छ । निश्चित क्षेत्रमा बाली उत्पादन गर्न ‘ताराखोला जैविक बगैँचाः युवालाई रोजगारी उत्पादन थरिथरि’ कार्यक्रम सञ्चालन गरी रोजगारी सिर्जनासमेत गरेको छ । “रेमिटान्सले कति दिन पुग्छ र आफ्नै उत्पादन, आफ्नै उपभोगमा बढी जोड दिनुपर्छ”, घर्तीले भने । आपत्कालीन अवस्थामा समेत गाउँपालिकाले आफ्नै उत्पादनको प्रयोगलाई जोड दिने गरेको छ । गत वर्षको बन्दाबन्दीमा काम नपाएका कारण गुजारा चलाउन कठिन परिवारका लागि गाउँमै उत्पादित कोदो र मकै बाँडेको थियो ।

“हामीसँग गाउँमा फलेको कोदो, मकै प्रशस्तै छ, एक ठाउँमा खरिद गरेर अर्को ठाउँमा बाँडेका थियौँ”, घर्तीले भने, “बजारको चामल किनेर बाँडेको भए हाम्रो पैसा बाहिरन्थ्यो ।” गाउँपालिकाले आफ्नो उत्पादन खरिद गरिदिएपछि किसान हौसिएका थिए ।

हिउँदमा लगाएर वर्षाको समयमा उकेर्ने ताराखोलाको आलु बजारमा बढी चर्चित छ । उच्च पहाडी भूभागमा फलेको आलु स्वादिलो हुने भएकाले बजारमा माग राम्रो रहेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराई बताउँछन् । “लामो समय माटोमुनि रहेको आलु चिसोले बिग्रिँदैन”, उहाँले भन्नुभयो, “कार्वोहाइडेड सङ्कलन शक्ति बढी हुने भएकाले चिसो ठाउँको आलु मिठो हुने हो ।”

बागलुङमा झण्डै पाँच हजार किसानले आलु उत्पादन गर्छन् । तीमध्ये व्यावसायिकरूपमा आलुको उत्पादन गर्ने किसान ताराखोलामा छन् । ताराखोलाका किसानले फलाएको आलु बजारमा मूल्य राम्रो पाउने र खानाका लागि समेत स्वादिष्ट भएकाले त्यहाँका केही किसानले आलुकै भरमा घर गुजारा चलाएका छन् । आलुसँगै ताराखोलाको अर्को आम्दानी हुने बाली भाँगो हो ।

रासायनिक मलको प्रयोग नहुने र स्थानीय जातको बीउमात्रै लगाउने भएकाले ताराखोलाको आलु धेरैले खोज्ने गरेको ताराखोला गाउँपालिका वडा नं ५ हिलेका किसान दमन रोकाको बुझाइ छ । “घरायसी मल र छापो गाँडेर आलु लगाइन्छ”, रोकाले भनिन्, “स्थानीय जातकै बीउ लगाइन्छ, विकासी बीउको प्रयोग भएको छैन ।” रासस

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments