ड्रायर मेशिन भित्रिएपछि चैतेधान भण्डार गर्न र राम्रो मूल्य पाइने भएपछि कृषक उत्साहित

धान सुकाउने ड्रायर मेशिन

बनियानी : धान सुकाउने ड्रायर मेशिन भित्रिएपछि झापा गौरादहका चैते धान खेती गर्ने कृषक उत्साहित बनेका छन् । ड्रायर मेशिन भित्रिएपछि चैते धान सुकाएर भण्डार गर्न र राम्रो मूल्य पाइने भएपछि यहाँका कृषक उत्साहित बनेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत लागत सहभागितामा गौरादह नगरपालिका–५ स्थित नमूना एकीकृत कृषि सहकारी खेतीलाई एउटा ‘मुभेबल’ (यताउता लान÷सार्न मिल्ने) ड्रायर मेशिन प्रदान गरिएको छ ।संस्थाका अध्यक्ष वेदनिधि चापागाईंले ड्रायर मेशिन पाएपछि धान सुकाउन सहज भएको बताए ।

“चैते धान नबिक्ने र मूल्य नपाउने समस्या छ”, उनले भने, “यो पटक धानको भाउ घटेर प्रतिमत रु ५०० मा प्रतिमन बेच्नुपर्ने अवस्था आयो, धान सुकाएर राख्दा दुई÷तीन महिनापछि रु एक हजार सहजै पाउन सकिन्छ ।”

झापामा चैते धानका लागि ड्रायर मेशिनको धेरै आवश्यक रहेको उनको भनाइ छ । समूहअन्तर्गत यहाँका किसानले ८० बिघामा चैते धान खेती गर्दै आएका छन् ।

“कृषिमा व्यावसायिकीकरण गर्ने उद्देश्यले पनि हामीले सामूहिक खेती सुरु गरेका हौँ”, उनले भने, “जग्गाअनुसार धान दिने र काम गर्ने कृषकले ज्यालासमेत पाउछन्।” गत वर्ष चार हजार मन धान उत्पादन गरिएको अध्यक्ष चापागाईं बताउछन्।

गौरादह–५ कै कृषक अर्जुन खतिवडा वर्षा–झरीका बेला चैते धान भित्र्याउनुपर्ने भएकाले पनि समस्या हुने गरेको बताए ।

धानको संरक्षण र भण्डारण गर्न सक्दा बजार भाउ नपाइने उनले बताए । उनले भने, “धान सुकाएर राख्दा ३० देखि ४० प्रतिशत मूल्य बढी पाइन्छ, यसले चैते धान लगाउने कृषकलाई प्रत्यक्ष र ठूलो राहत मिल्नेछ ।”

चैते धानमा चिस्यान धेरै हुने भएकाले भण्डारण गर्न सकिँदैन त्यसैले सस्तो–महँगो जति भए पनि धान बेच्नुपर्ने बाध्यता रहेको कृषक बताउँछन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ झापाका वरिष्ठ कृषि अधिकृत रवीन्द्र सुवेदीले नमूना एकीकृत कृषि सहकारी खेतीलाई ड्रायर मेशिनमा ५० प्रतिशत र पोष्टहार्वेस्ट निर्माणका लागि ८५ प्रतिशत अनुदान दिइएको जानकारी दिए ।

परियोजना कार्यान्वयन एकाइले ड्रायर मेशिनका लागि रु २० लाख, पोष्टहार्वेस्ट निर्माणका लागि रु २० लाख अनुदान दिएको हो । उक्त ड्रायर मेशिनबाट धानका साथै मकै पनि सुकाउन मिल्छ ।“मेशिनको सफलता हेर्न बाँकी छ”, वरिष्ठ कृषि अधिकृत सुवेदीले भने, “राम्रो भयो भने कृषकले लाभ पाउनाका साथै चैते धान खेती विस्तारमा समेत सहयोग पुग्छ ।”

उनका अनुसार चैते धानमा ३०÷३५ प्रतिशत चिस्यान हुन्छ, धान भण्डारण गर्न १८ प्रतिशतभन्दा कम र बीउका लागि १२ प्रतिशतसम्म चिस्यान हुनुपर्छ ।उनले भने, “ड्रायर मेशिनले धान सुकाएर दुई÷चार महिनासम्म भण्डारण गरेर राख्न सकिन्छ, कृषकले पर्खेर राम्रो मूल्यमा बेच्न पनि सक्छन् ।” यस पटक पनि झापाको गौरादहबाट चैते धानले उचित मूल्य नपाएको गुनासो आएको उनले बताए ।

झापामा सुपरजोनअन्तर्गत चैते धानको क्षेत्र एक हजार ५०० बिघाबाट बढेर दुई हजार १०० बिघा पुगेको परियोजना कार्यान्वयन एकाइले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?