हाटबजार सञ्चालनमा नआउँदा आकाशियो तरकारीको भाउ

कृषि तथा पशुपालन व्यवसाय

टीकापुर : कैलालीमा किसानको स्थानीय उत्पादन बिक्री गर्ने हाटबजार सञ्चालनमा नआउँदा तरकारीको मूल्य आकाशिएको छ । कोरोना महामारी समुदायमा फैलिएपछि बन्द भएका हाटबजार सञ्चालनमा नआउँदा अहिले तरकारी किन्न नसक्ने गरी मूल्य बढेको हो ।

कोरोनाका कारण गत वैशाखबाट बन्द भएका हाटबजार सञ्चालनमा आउन सकेको छैन । “यो मौसममा स्थानीय तरकारी उत्पादनमा समेत कमी आउँछ, अझ हाटबजार बन्द भएकाले साना किसानको उत्पादनले बजार पाएन”, किसान शम्भु चौधरी भन्नुभयो, “यसको असर तरकारीको मूल्यमा परेको छ । बाहिर जिल्लाबाट आएको तरकारी छोइनसक्नु छ । गोलभेँडा, करेला, सिमी, बोडीलगायतका तरकारीको मूल्य प्रतिकेजी रु १०० भन्दा माथि छ ।”

स्थानीय तरकारी उत्पादनमा कमी हुँदा बजार मूल्य धेरै तिर्नुपर्छ । सिजनल समयमा धेरै किसान तरकारी उत्पादनमा सहभागी हुन्छन् । यो समयमा धेरैले धानखेती गर्छन्, अझ उत्पादन भएको तरकारीसमेत बजारमा आउन पाएको छैन । “साना किसानले उत्पादन गरेको तरकारी हाटबजारमा बिक्री हुन्थ्यो, तरकारी बिक्रेताकहाँ लैजाँदा मूल्य पाइँदैन”, अर्का किसान रमेश धामी भन्नुयो, “मूल्य नपाइने भएपछि हामीले बिक्री भएजति तरकारी गाउँमै बिक्री गर्छौँ, बाँकी बारीमै सड्छ । बजारका बिक्रेताले हामीसँग किनेको तेब्बर मूल्यमा बेच्छन्, हामी घाटामा हुन्छौँ ।”

वैशाखमा लकडाउन भयो । लकडाउनका समयमा बारीमा उत्पादन भएको तरकारी बजार नपाएर किसानले बारीमै नष्ट गरे । “काक्रा, लौका, भिन्डी, बोरी, हरियो खुर्सानीलगायतका तरकारीले बजार नपाएर बारीमै नष्ट ग¥यौँ, अब त तरकारी खेतीप्रति रुचि घटेको छ”, उहाँले भन्नुभयो, “उत्पादनले बजार नपाउँदा किसानलाई घाटामात्र होइन उत्साह पछि घट्छ ।”

जिल्लामा यो सिजनमा तरकारीमात्र होइन फलफूलको समेत मूल्य वृद्धि भएको छ । वर्षात्का सिजनमा स्थानीय क्षेत्रमा तरकारी उत्पादनमा कमी हुनुका साथै अन्य जिल्लाबाट तरकारी आयात हुने हुँदा तरकारीको मूल्य उच्च भएको उपभोक्ता माया चौधरीले बताउनुभयो । “घरमा पनि तरकारी उत्पादन छैन, बजारमा तरकारी निकै महङ्गो छ”, उहाँले भन्नुभयो, “धानखेती गर्ने परम्पराले पनि यो सिजनमा तरकारी उत्पादनमा कमी हुने गरेको हो । सिजनल समयमा सबै किसानले तरकारी उत्पादन गर्ने गरेता पनि यस सिजनमा व्यावसायिक किसान मात्र तरकारी उत्पादन गर्दछन् । सीमित किसान मात्र तरकारी उत्पादन गर्ने भएकाले अहिलेको सिजनमा तरकारीको मूल्य अन्य समयभन्दा उच्च हुन्छ ।”

अहिले जिल्लामा भारतीय बजारसँगै सुदूरपश्चिमको पहाडी इलाकाबाट तरकारी आयात हुने गरेको छ । पहाडी जिल्ला तथा भारतबाट आउने भएकाले तरकारीको मूल्य उच्च हुने गरेको स्थानीय तरकारी उत्पादक किसान बलीराम चौधरीले जानकारी दिनुभयो ।

ग्रामीण क्षेत्र उत्पादन केन्द्रित र शहर क्षेत्र तरकारीको खपत हुने क्षेत्रका रूपमा नभई सानो क्षेत्रमा करेसाबारी, कौशीखेतीको अवधारणाले तरकारी उत्पादनमा लाग्न सके तरकारीको उच्च मूल्यको मारबाट बच्न सकिने कृषि प्राविधिकको सुझाव छ ।रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?