जोखिमपूर्ण तरिकाले खोला तरेर दूध बिक्री गर्न बाध्य कृषक

व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दीखोलाको पुल बगाएपछि छाब्दी खोला तरेर दूध तार्दै किसान । तस्वीर: सानेबहादुर नेपाली,रासस

दमौली: पक्की पुलको विकल्पमा निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएपछि तनहुँको व्यास नगरपालिका–१३ बेलवासका कृषक जोखिमपूर्ण तरिकाले खोला तरेर दूध बिक्री गर्न बाध्य भएका छन् ।

गत असार १७ गते आएको बाढीले व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दीखोलाको पुल बगाएपछि नगरपालिकाले असार २७ गते अस्थायी डाइभर्सन बनाएको थियो। उक्त डाइभर्सन पनि सोमबारको बाढीले बगाइदिएपछि कृषक थप मारमा परेका हुन्। छाब्दीखोलामा १८ वर्ष अगाडि पक्की पुल निर्माण भएको थियो ।

अस्थायी डाइभर्सन निर्माणपछि केही सहज भएको यहाँका कृषकलाई पुनः सास्ती भएको बेलवासका कृषक राजन सापकोटाले जानकारी दिए। “पुल भत्किए लगत्तै पनि यहाँका कृषकले दुःख पाए, अहिले फेरि दुःख भयो,” उनले भने, “पुल भत्किएको दश दिनपछि अस्थायी डाइभर्सन बनेकाले सहज भएको थियो, फेरि खोला तरेरै दूध बिक्री गर्न आउनुपरेको छ ।”

दूधको क्यान बोकेर खोला तर्दा जोखिम भएको उनले बताए। “केही दिनदेखि परेको झरीले छाब्दीखोला बढेपछि डाइभर्सन पनि बगायो, अहिले क्यान बोकेर खोला तर्नुपर्दा जोखिम छ”, उनले भने। छिटोभन्दा छिटो पक्की पुल निर्माण नभएसम्म यहाँका कृषकलाई सास्ती भइरहने सापकोटाको भनाइ छ। बेलबासमा ६० भन्दा बढी कृषकले दैनिक रुपमा दूध बिक्री गर्ने गर्दछन् ।

यहाँबाट दैनिक डेढ लाख भन्दा बढीको दूध बिक्री हुन्छ। “डाइभर्सन भत्किएसँगै पशुलाई खुवाउने दाना ढुवानीमा पनि समस्या आउन सक्छ”, उनले भने, “कृषकको समस्यालाई सरोकारवालाले छिटो समाधान गर्नेतर्फ लागोस्।” बेलबासबाट दैनिक दुई हजार लिटर भन्दा बढी दूध उत्पादन हुने र उक्त दूध सबै सदरमुकामस्थित डेरीबाट बिक्री हुने गरेकामा खोलाको पुल र डाइभर्सन बगाएपछि कृषक मारमा परेको बेलबास दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष लक्ष्मीकान्त मिश्रले जानकारी दिए ।

डाइभर्सन बगाएपछि स्थानीयवासीलाई वारपार गर्न पनि समस्या भएको स्थानीयवासी मेघराज आचार्यले बताए। “यस्तो पीडा यहाँका जनताले कति दिन सहने हो”, उनले भने, “समस्याका बारेमा सबै जानकार भए पनि समाधानमा किन ढिला भइरहेको छ बुझ्न सकेका छेनौं ।” पुल भत्किएर डाइभर्सन बनेपछि यातायात पनि सञ्चालन भइरहेको थियो। तर डाइभर्सन पनि बगाएपछि यातायात अवरुद्ध भएको छ ।

बुद्धसिं मार्ग अन्तर्गत गर्ने यस ठाउँमा यातायात अवरुद्ध भएपछि दक्षिण भेगसँगको सम्पर्क टुटेको स्थानीयवासी यामबहादुर आलेले बताए। यही पुल हुँदै व्यास–१३ को बेलवास, पोखरीभञ्ज्याङ, व्यास–१४ को केशवटार, सुढे, ऋषिङको हुस्लाङ, गुम्लेक, देवघाट, आँबुखैरेनी, बन्दीपुरलगायतका ग्रामीण भेगका बासिन्दा आवतजावत गर्दथे। यस ठाउँमा बेलिब्रिज जडानका लागि पूर्वाधार निर्माणको काम भइरहेको छ ।

भानु नगरपालिका–३ तुरतुरेमा रहेको बेलिब्रिज झिकेर यहाँ राख्नका लागि दुवैतर्फ जीप तयार भइसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए। तर तुरतुरेमा रहेको बेलिब्रिजको केही भाग गत भदौ १ गते बगाइदिएको छ। “बेलिब्रिजको केही भाग ल्याइसकिएको थियो, केही भने मस्र्याङ्दीमा आएको बाढीले बगाइदियो, त्यसकारण पनि केही ढिला हुनगएको छ”, उनले भने, “अब अर्को ठाउँबाट ल्याउनका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराएका छौ ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?