बाख्रा उपहार : मासुमा आत्मनिर्भर बनाउन बाख्रा पकेट क्षेत्र विस्तार

पाल्पा: तानसेन नगरपालिका–१२ मा बाख्रा पकेट क्षेत्र विस्तारका निम्ति बाख्रा उपहार प्रदान गरिएको छ । मासुमा आत्मनिर्भर बनाउनका निम्ति बाख्रा पाकेट क्षेत्र विस्तार गरिएको हो । बाख्रा पकेट क्षेत्रका लागि १० वटासम्म बाख्रा सहयोग गरिएको हो ।

महिला दिदीहरुलाई स्थानीय जागृत स्वलम्बन महिला समूहमा आबद्ध दिदीहरुले व्यावसायिकरूपमा बाख्रापालन गरी आम्दानी गरेपछि बहिनी समूहलाई व्यावसायिक बनाउन निःशुल्करुपमा बाख्रा प्रदान गरिएको हो । जागृत स्वालम्बन महिला मूल समूहबाट उत्पादित ३९ वटा बाख्रा तीन नयाँ उपसमूहलाई उपहार प्रदान गरिएको हो । चौरासी वटा बाख्रा उपहारबाट सुरुआत भएको कार्यक्रम हालसम्म २४७ वटा पुगेको हो ।

तानसेन नगरपालिका र ग्रामीण आर्थिक विकास सङ्घ (रेडा)ले महिला समूहलाई बाख्रा उपहार गरी नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने योजनाका साथ काम थालिएको नगरपालिकाले जनाएको छ । बाख्रापालन गर्ने समूहका सदस्यलाई आधारशीला तालिम, समूह व्यवस्थापन तालिम, पशुको उचित व्यवस्थापन तालिम, करेसाबारी तालिम, बाह्य जिल्ला भ्रमण, खोर निर्माण, घाँस खेतीका निम्ति बीउ, बीउ पुँजी सहयोग रहेको सङ्घका कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले बताए ।

गरिबी निवारण तथा महिलालाई उत्पादनमूलक कार्यमा जोडेर स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गरिएको बाख्रापालन पकेट क्षेत्र कार्यक्रम नगरपालिकाको ७५ प्रतिशत अनुदान र रेडाले २५ प्रतिशत गरी १०० प्रतिशतमा बाख्रा पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा नगरप्रमुख अशोककुमार शाहीले गरिबी र बेरोजगारीको समस्या हटाउन बाख्रापालन कार्यक्रमले सहयोगी भूमिका खेल्ने बताए ।

विदेशमा रोजगारी गुमाई स्वदेश फर्किएका युवालाई स्वरोजगार बनाउनका निम्ति नगरपालिकाले देशमै पहिलोेपटक युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याएको र यस अभियानले धेरै युवाले अवसरको सदुपयोग गर्नुभएको उनको भनाइ थियो । उनले सहुलियतमा बिना धितो ऋण प्रदान गरी कृषि र पशुपालनका क्षेत्रमा युवाको आकर्षण बढाएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले नागरिकलाई विभिन्न पकेट कार्यक्रममार्फत उत्पादनमूलक कार्यक्रममा जोडेर युवालाई उद्यमशील बनाउन कार्यक्रम सञ्चालन गर्दै आएको बताए । कार्यक्रममा जागृत महिला समूहका सचिव रीता रानाले सुरुआतमा २५ महिलालाई बाख्रा प्रदान गरी कार्यक्रम शुरु गरिएको थियो । समूहले सामूहिक घाँस एक रोपनीमा रोपण, सामूहिक अदुवा खेती ३३२ केजी, तीन वटा उपहार समूहको निर्माण जुन समूहमा ६२ जना सदस्य रहेको उनले बताए। रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments