बजार नपाएर फर्ममै कुहिँदै अर्गानिक अंगुर

बजार नपाएर फर्ममै कुहिँदै अर्गानिक अंगुर

डोल्पा : जिल्लाका किसानले आफूले उत्पादन गरेको अंगुर बजार पुर्‍याउन हवाई ढुवानीमा अनुदानको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। सडक मार्गबाट बजार पुर्‍याउन समस्या भएपछि किसानले ढुवानीमा अनुदान मागेका हुन्।

अहिले जिल्लाको खातिज्युला, त्रिपुराकोट, रल्ली र गल्ली गाउँमा अर्गानिक अंगुर लटरम्म फलेको छ। विशेषगरी त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट, रल्ली र गल्ली गाउँले आफूलाई अंगुर गाउँको रूपमा स्थापित गर्न थालेका छन्।

ठूला सहरका बजारमा नपाइने अर्गानिक अंगुर त्रिपुराकोटमा प्रतिकेजी ५० रूपैयाँमा पाइन्छ। त्रिपुरासुन्दरी–१, का मोतिप्रसाद हमालले हमाल फलफूल तथा अंगुर खेतीको नाममा फर्म दर्ता गरेर यसको व्यावसायिक खेती गरेका छन्। उनको फर्ममा झण्डै दुई लाखको अंगुर छ। बजार नहुँदा लटरम्म फलेको अंगुर फर्ममै कुहिएर जान थालेको गुनासो हमालको छ।

त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाले ७५ सालमा नगरलाई फलफूल खेतीको माध्यमबाटै आर्थिक समृद्धिको बाटोमा अघि बढाउने उद्देश्यले भारतको महाराष्ट्रमा पर्ने नासिकबाटै नौ हजार बिरुवा ल्याएर कृषकलाई बाँडेका थिए।

कालो रंगको अंगुर अर्गानिक रूपमा फलेकाले स्वास्थ्यको लागि लाभदायी भए पनि बजार र प्रशोधन गर्ने उपकरण अभावमा फर्ममै कुहिएको कृषक सरिता हमालको भनाइ छ। ‘दिनमा दुईपटक डोकामा लगेर त्रिपुराकोटको बगर बजारमा बेच्न राखे पनि मुस्किलले कट्छ। दैनिक दुईदेखि तीन हजारसम्मको व्यापार हुन्छ,’ उनले भनिन्।

जिल्लाको रंग र खदाङमा अंगुर फलेको छ। डोल्पामा अंगुरको व्यावसायिक खेती गरिएको यो पहिलोपटक हो। त्रिपुरासुन्दरीका मेयर ओमबहादुर बुढाले ७५ सालमा एक करोड र ७६ मा १ करोड ४० लाख रूपैयाँ फलफूलका बिरुवा खरिद र कृषकलाई घेराबार निर्माणका लागि बजेट विनियोजन गरेका थिए।

त्रिपुरासुन्दरी–१ कै सुस्मिता श्रेष्ठको फर्ममा पनि अंगुर लटरम्म छ। झण्डै एक हेक्टर जमिनमा फलेको अंगुर नेपालगन्ज लगायत ठूला सहरमा लगेर बेच्न सके तीन लाखसम्म आम्दानी हुने श्रेष्ठ बताउँछिन्। नगर केन्द्र बगर र जिल्ला सदरमुकाममा सस्तोमा बिक्री गर्दा पनि दिनको सरदर तीन हजारसम्म आम्दानी हुने गरेको श्रेष्ठको भनाइ छ।

विशेष कार्यक्रम ल्याएर व्यावसायिक अंगुर खेती सुरु गर्ने मेयर बुढाको मृत्युसँगै नगरले अंगुर विशेष कार्यक्रमको लागि विनियोजन गरेको बजेट अन्य शीर्षकमा खर्च गर्दा घेराबार कार्यक्रम ओझेलमा परेको छ।

सुस्मिता फलफूल अंगुर नर्सरी फर्म दर्ता गरेर व्यवसाय गर्दै आएकी श्रेष्ठ नगरले हवाई ढुवानीमा अनुदानको व्यवस्था गरिदिए नेपालगन्ज लगायत ठूला सहरमा अंगुर पु¥याउन सकिने बताउँछिन्।

कौशल फलफूल फर्म दर्ता गरी अंगुर खेती गरेका लबचन्द्र रोकाया डोल्पामा अंगुरको लागि अनुकूल मौसम भएको बताउँछन्। अचेल ठूला सहरी क्षेत्रका बजारमा अंगुर पाइँदैन। तर हिमाली जिल्लामा सडेर जाने अवस्था भएकाले सरकारले ढुवानीमा अनुदान दिनुपर्ने रोकायाको माग छ।

त्रिपुरासुन्दरी नगरपालिकाका कार्यकारी प्रमुख प्रितिभक्त गिरीले अंगुर खेती भएको ठाउँमा घेराबार लगाउने एंगल खरिदको लागि बजेट विनियोजन भए पनि कोरोनासम्बन्धी स्वास्थ्य उपकरण खरिदमा खर्च गरिएको बताए। जिल्लामा पाइलट कार्यक्रमको रूपमा सुरु गरिएको अंगुर खेती भविष्यमा राम्रो हुने देखिएकोले आगामी वर्षमा विशेष बजेट विनियोजन गरेर ढुवानी अनुदान लगायत अन्य व्यवस्था गरिने उनले बताए। नागरिक दैनिकमा खबर छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?