मकवानपुरमा ड्रागन फ्रुटको व्यावसायिक खेती गरिँदै

ड्रागन खेती

बागमती: मानव स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक मानिएको ड्रागन फ्रुटको मकवानपुरमा व्यावसायिक रुपमा खेती सुरु गरिएको छ। पछिल्लो समय करोडौँ लगानी गरी यहाँका किसान ड्रागन फ्रुटको व्यावसायिक खेती गर्न लागिपरेका छन् ।

जिल्लामा दुई वर्षयता १५ बिघा क्षेत्रफलमा ड्रागन फ्रुटको खेती गरिँदै आएको छ। सो खेतीको विस्तार क्रमशः बढ्दै गएको कृषि ज्ञान केन्द्रका योजना अधिकृत उमराज अर्यालले जानकारी दिए ।

जिल्लाको गर्मी ठाउँमा यसको व्यावसायिकरुपमा खेती भइरहेको छ। करेसाबारी, घरको छतमा तथा खेतमा ड्रागन फ्रुटको खेती भइरहेको छ। “जिल्लालाई ड्रागन फ्रुटमा आत्मनिर्भर बनाउने प्रयास भइरहेको छ”, अर्यालले भने। जिल्लाको मनहरि, बकैया, मकवानपुरगढी तथा हेटौँडा उपमहानगरपालिकाका विभिन्न ठाउँमा ड्रागन फ्रुटको व्यावसायिक खेती भइरहेको छ ।

सबैभन्दा बढी हेटौँडा–११, १२ र १७ मा यसको खेती गरिएको छ। “धेरैले घरको छत र करेसावारीमा ड्रागन फ्रुट लगाउने गरेको पाइएको छ”, अर्यालले भने। ड्रागन एक पटक लगाएपछि २० वर्षसम्म सोही बिरुवाबाट फल दिने गर्दछ। दुई वर्षदेखि ड्रागन खेतीमा समपिर्त मनहरिका हरिशरण अर्याल लगानीअनुसार प्रतिफल प्राप्त भइरहेको बताउँछन् ।

बाह्र कट्ठा जग्गामा यसको खेती सुरु गरेका उनले वर्षेनी विस्तार गर्दै लागेका छन्। अर्यालले प्रतिकिलो ड्रागन रु ६ सयदेखि रु सात सयसम्ममा बिक्री गर्दै आएका छन्। नेपालमा पछिल्लो समय ड्रागन फ्रुट खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।

हाल दाङ, चितवन, झापा, धनकुटालगायत जिल्लामा व्यावसायिक रुपमा यसको खेती गरिँदै आएको । मनहरि, मकवानपुरगढी र थाहा नगरपालिका कृषि र पशुपालनका लागि नमूना क्षेत्र मानिन्छन्। यहाँको प्रमुख आयस्रोत नै कृषि र पशुपालन हो। जिल्लामा हाल साना ठूला गरी ७० भन्दा बढी पशुपालन केन्द्र सञ्चालनमा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?