काटेर सुकाउन राखेको धान खेतमै उम्रियो : लागत खर्च नउठ्दा किसान निराश

तस्बिरः सिद्धराज भट्ट,रासस

कञ्चनपुर: लगातार चार दिनको वर्षापछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा खेतमा व्यस्त भएका छन् । खेतमा सुकाउन राखिएको धान भिजेपछि उम्रिन सुरु भएको छ । पानी सुक्न नपाएको खेतमा काटेको धानको परालसहितका बाला कुहिएका छन् ।

लालझाडी गाउँपालिकाको कञ्जका किसान नन्दलाल राना खेतको धान बाली भित्र्याउन नपाउँदै उम्रिन थालेपछि निकै चिन्तित छन् । “लगातार चार दिनको वर्षाले खेतमा काटेर राखेको आधाभन्दा बढी धान बगाएर लग्यो”, उनले भने, “बग्नबाट बचेको धान उम्रिन सुरु भएको छ । केही धान बालासहित कुहिएको छ ।”

दुई बिघा खेतमा लगाएको धान वर्षाभरि खानका लागि राखेर रानाले बेच्नसमेत भ्याउथे । बेचेको धानबाट परिवारको खर्च धानिँदै आएको थियो । “समयमै वर्षा हुँदा धान समयमै रोप्न पाएका थियौं । खेतमा धानका बाला विगतको तुलनामा निकै राम्रो थियो”, उनले भने, “बाली भित्राउने बेला परेको पानीले सबै सखाप पार्याे । बेच्दै आएको धान अब खरिद गरेर खानु पर्ने अवस्था आइलागेको छ ।”

उनको जस्तै लालझाडी गाउँपालिकाका अधिकांश किसानको खेतमा काटेको धान दोदा नदीमा बगेको छ । खेतमा बचेको धान कुहिएपछि कामै नलाग्ने भएको छ । शुक्लाफाँटा नगरपालिका–२ रानीपुरका किसान भोला चौधरीले पानी पर्नु अगावै खेतबाट धानका मुठा बाँधेर थ्रेसिङ गर्नका लागि थ्रेसरको खोजी गर्दै थिए । थ्रेसर खोज्न नपाउँदै पानी पर्यो । एक बिघा अधिया लगाएको पूरै धान खेतमै भिज्यो । “खेतबाट धान उठाउँनै पाएनौँ”, उनले भने, “पानीले सबै धान भिज्यो । पानी पर्दै गरेका बेला खेतकै आलीमा लगेर धान राखेपनि बालामै धान उम्रिएको छ ।”

धान लगाउनका लागि गरेको मिहिनेत खेर ग–यो । जोताइ, बीउ, मलखाद, सिँचाइ गर्दा र खेताला लगाउँदाको खर्च नउठ्ने भयो । परिवार पाल्नैका लागि मजदूरीमा जानुपर्ने अवस्था आइलाग्यो ।” कोरोनाको महामारी रहेकै बेला मजदूरी पनि पाउन मुश्किल भएको उनको भनाइ रहेको छ । धान रोप्नका लागि महँगोमा मलखाद र बीउ खरिद गर्नुपर्ने, जोताइ, सिँचाइ र खेताला लगाउँदा सहकारी र समूहबाट कर्जा निकाल्नुपर्ने अवस्थामा वर्षाले पूरै बालीमा नोक्सानी पुर्याएपछि किसान बिचल्लीमा परेको नेपाल किसान सङ्घका केन्द्रीय सदस्य शेरबहादुर साउदले बताए।

“वर्षाका कारण धानबालीमा नोक्सानी व्यहोरेका किसानलाई सरकारले तत्काल क्षतिपूर्ति रकमको व्यवस्था गर्नुपर्छ”, उनले भने, “किसान अन्नदाता हो । सबैको पेट पाल्दछ । किसान अप्ठ्यारोमा परेका बेला सरकारले हेर्नुपर्दछ । किसानले अन्न उत्पादन नगरे भोकभोकै बस्ने बेला आउन सक्छ ।”

त्यसैले किसानको मर्कालाई बुझेर सरकारले मालपोत, सिँचाइको विद्युत् महशुल मिनाहासँगै अनुदानमा बीउविजन उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । वर्षाको पानीले खेतको धान नोक्सान भएकै बेला जङ्गली हात्तीले बाँकी रहेको धानमा क्षति गर्न थालेकाले किसानलाई त्यसको क्षतिपूर्ति दिइनुपर्ने उनले बताए । मौसमविद्ले पहिलानै भारी वर्षा हुने कुरा बताएका भए पनि त्यो कुरा किसानसम्म पुग्न नसक्दा धानबाली, तरकारी बालीमा ठूलो क्षति व्यहोर्नुपरेको उनको भनाइ रहेको छ । स्थानिय तहले वर्षाको डुबान र बाढीबाट प्रभावित भएका किसानको तथ्याङ्क सङ्कलनको कार्य अगाडि बढाएका छन् । धान, तरकारीबाली र उखु बालीको क्षतिको विवरण सङ्कलन वडामार्फत स्थानीय तहले काम अगाडि बढाएका हुन् ।

शुक्लाफाँटा नगरपालिका नगरप्रमुख दिलबहादुर ऐरले सात दिनभित्र वर्षाका कारण क्षति व्यहोरेका किसानको विवरण सङ्कलन गरी पठाउनका लागि वडा कार्यालयलाई निर्देशन दिइएको बताउँछन् । वडाले सङ्कलन गरेको विवरण नगर विपद् समितिमार्फत कार्यपालिकामा लगेर क्षतिपूर्तिका लागि प्रदेश र सङ्घीय सरकारलाई अनुरोध गरिने उनले बताए । “नगरको बजेटले सबै किसानलाई क्षतिपूर्ति दिन भ्याउँदैन”, उनले भने, “प्रदेश र केन्द्र सरकारलाई अनुरोध गर्छौँ ।”

बेलौरी, पुनःवास, कृष्णपुर नगरपालिकासँगै लालझाडी र बेलडाँडी गाँउपालिकाले वर्षाले धानबालीमा क्षति गरेको विवरण सङ्कलनको कार्य अगाडि बढाएको छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका अधिकृत रणबहादुर मल्ल स्थाीनय तहका कृषि शाखामार्फत धानलगायत बालीको क्षतिको विवरण सङ्कलनको कार्य भैरहेको बताउँछन् । “जिल्लाका नौवटै स्थानीय तहका कृषि शाखामार्फत क्षतिको विवरण सङ्कलनको कार्य भैरहेको छ”, उनले भने, “एक दुई दिनभित्रै क्षतिको विवरण उपलब्ध गराउन सकिन्छ ।” उनका अनुसार जिल्लाका २५ प्रतिशत किसानले मात्रै धानबाली भित्र्याउन पाएका छन । ७५ प्रतिशत किसानको धान बालिमा वर्षाले क्षति गरेको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?