चाँगुनारायण नगरपालिकाले निषेध गर्‍यो बङ्गुरपालन

बर्दियामा बङ्गुर मिसन कार्यक्रम

भक्तपुर : चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र फार्म सञ्चालन गरी बङ्गुरपालन गर्न निषेध गरेको छ। नगरसभाले नगर क्षेत्रमा बङ्गुर फार्म सञ्चालन गर्न नपाइने निर्णय गरेको थियो।

नगरपालिकाले हालै सूचना जारी गरेर आगामी मङ्सिर ५ गतेभित्र सबै बङ्गुर फार्म हटाउन निर्देशन समेत दिएको छ।

फार्मले नगरभित्र फोहर र प्रदूषण बढाएका, प्राकृतिक सौन्दर्यतामा असर पुर्‍याएको, खोलादेखि स–साना खहरेमा फोहर तथा ढल सिधै हाल्ने गरेको र बस्तीमा प्रदूषण फैलाएको जनाउँदै सञ्चालनमा रोक लगाएको सूचनामा जनाइएको छ।

स्थानीय बासिन्दाले फार्मबाट फोहर र प्रदूषण बढेकाले त्यस्ता फार्म बन्द गर्न माग गर्न वडादेखि नगरपालिकासम्म दबाब दिएकाले नगरसभाले नै यस्तो निर्णय गरेपछि अहिले कार्यान्वयनमा ल्याएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए।

नगरपालिकाको प्रशासन शाखाका अधिकृत नीलाकुमारी घिमिरेले नयाँ बङ्गुर फार्म सञ्चालन नगर्न र सञ्चालनमा रहेका बङ्गुर फार्मलाई ३० दिनभित्र हटाउन निर्देशन दिँदै सूचना जारी गरेकी छन्। मङ्सिर ५ गतेभित्र त्यस्ता फार्म नहटाए कारबाही गर्ने उनले बताइन्।

अहिले चाँगुनारायणका विभिन्न ठाउँमा व्यावसायिकरूपमा बङ्गुर फार्म सञ्चालनमा छन्।

सरकारको नियमानुसार पनि यस्ता बङ्गुर फार्म सम्बन्धित पालिकासँग अनुमति लिएर व्यवसाय दर्ता गर्दै बस्तीको बीच वा बस्ती नजिक नभई बस्तीभन्दा टाढा सञ्चालन गर्न पाइने व्यवस्था छ।

चाँगुनारायण क्षेत्रमा मानव बस्ती आसपासमा अधिकांश फार्म सञ्चालनमा रहेको नगरपालिकाको भनाइ छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?