गाई भैँसीलाई ‘सुत्केरी भत्ता’ले किसान उत्साहित
पर्वत : पर्वतको जलजला गाउँपालिकाले व्यावसायिक कृषि प्रवर्द्धनका लागि कृत्रिम गर्भाधान गराएर पाडा बाच्छा हुर्काउने किसानलाई ‘पशु भत्ता’ दिँदै आएको छ ।
गएका तीन आवदेखि निरन्तरता दिइएको यो कार्यक्रमले जन्मिनासाथ पाडा पाडी वध गर्ने क्रम घटेको भएको र स्थानीय जातका पाडा पाडी तथा बाच्छा हुर्काउने क्रम बढ्दै गएको पशु स्वास्थ्य प्राविधिक दीपक श्रेष्ठले बताउनुभयो । ‘पशु भत्ता’ लागू भएको पहिलो वर्षमा ५८ जना र गत वर्ष ७२ जना कृषकले ब्याएका प्रति पशुबापत रु.२५ सय रुपैयाँका दरले रकम बुझेका छन् ।
नस्ल सुधार गरी दूध उत्पादन बढाएर कृषकलाई व्यावसायिक बनाउन तथा पाडा र बाच्छा हुर्काउन गरिएको यो कार्यक्रमले कृषकलाई फाइदा पुगेको श्रेष्ठको भनाई छ । नस्ल सुधारका लागि कृत्रिम गर्भाधानको बारेमा कृषक पनि सचेत हुनुभएको र यो क्रम बढ्दो अवस्थामा रहेको श्रेष्ठले बताउनुभयो ।
‘सुत्केरी पोषण खर्च’ का रूपमा उपलब्ध गराउने गरिएको यो कार्यक्रममा यस वर्ष कम्तीमा पनि ७२ जना कृषकलाई समेट्ने लक्ष्य राखिएको छ । भैँसीलाई राँगा लगाएर गर्भाधान गराउँदा रु.४ हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्ने अवस्था रहेकाले पनि कृषकहरू कृत्रिम गर्भाधानमा आकर्षित भएका छन् । कृत्रिम गर्भाधानको लागि नजिकैमा रु.३ सय रुपैयाँदेखि टाढा पुग्दा रु.८ सय रुपैयाँसम्म लिने गरिएको छ । तर राँगाका लागि नजिकैमा रु. ८ सयदेखि टाढा पुग्दा रु.४ हजारसम्म तिर्नुपर्छ ।
त्यसमा पनि कृत्रिम गर्भाधानको नस्ल सुधारबाट दूध उत्पादन समेत बढ्ने भएका कारण पनि आफूहरू कृत्रिम गर्भाधानमा आकर्षित भएको वडा नं ५ लेखफाँटका कृषक मोहदत्त सुवेदीले बताउनुभयो ।
कृषकसँगको साझेदारी कार्यक्रमले योजना कार्यान्वयन गर्न सहज र प्रभावकारी हुने भएकोले रु.१४ लाख ८० हजार रुपैयाँ साझेदारीका लागि विनियोजन गरेर कार्यान्वयनमा लागिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो ।
गाउँपालिकाका पशुपालक कृषक, कृषक समूह, फर्म, सहकारी आदि लक्षित गरेर सहकार्यमा गाई भैँसी गोठ सुधारमा प्रति गाई भैँसी प्रति कृषक बढीमा रु. २५ हजार, कम्तीमा ३ वटा माउ गाई वा भैँसी तथा १५ वटा माउ बाख्रा पाल्ने कृषकलाई सहकार्यमा च्याफकटर वितरणका लागि रु.२ लाख दिइने क्षेत्रीले बताउनुभयो ।
यस्तै बङ्गुर, बाख्रा र कुखुरा पालनका लागि रु. २ लाख रुपैयाँ, सहकार्यमा पशुपक्षी यान्त्रिक उपकरण वितरणको लागि रु.२ लाख ३० हजार र बोयर बोका तथा पाठी वितरणको लागि रु. ३ लाख ५० हजार लगानी गर्न लागिएको छ ।
