डालो, नाङ्लो र टालुटपरी बनाउन भ्याइनभ्याइ

जलेश्वर:

सुङ्गुर डोर्याएर वर्षैभरी गाउँगाउँ चाहार्ने महोत्तरीका डोम समुदायलाई अहिले तराईवासीको महान पर्व छठ नजिकिँदै जाँदा बाँस र बेंतका चोयाबाट डालो, नाङ्लो र टालुटपरी बनाउन भ्याइनभ्याइ भएको छ ।

गाँस, बास र कपासकै जोरजाममा पिँढीदर पिँढीलाई हम्मेहम्मे पर्ने गरेको डोमले छठपर्व आउनासाथ कात्तिक महिनाभरी आफ्ना जीवनका हरेक दुख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने सौभाग्य प्राप्त भएको महोत्तरीको गौशाला नगरपालिका– ११ की ६५ वर्षीया लक्ष्मीनियाँदेवी डोमिनले बताइन् ।

जिल्लाको विभिन्न गाउँ, सहरमा हुने भोजभतेरबाट जुठोसमेत ल्याएर स–परिवार खाने गरेको डोमले कात्तिकमा नानाथरिका परिकार पकाएर खाने गरेको सोही ठाउँ बस्ने ७० वर्षीया भुल्लीदेवी डोमिनले बताइन् ।

डालो बुन्दै गरेकी जिल्लाको लोहारपट्टी नगरपालिकाकी ५५ वर्षीया मरनीदेवी डोमिनले भनिन्, “कात्तिक लाग्ने बितिकै घरका बच्चादेखि बुढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालुटपरी बनाउनमा तल्लीन हुन्छौं, बजारमा बेच्दा मनग्य आम्दानी हुने भएकाले हामी निक्कै खुशी हुन्छौं ।”

छठपर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेंतकै चोयाबाटै बनाइएका डालो, नाङ्गला र टालुटपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा ५-७ वटा बाँसका भाँडाकुडा किन्नु पर्दछ। छठपर्वको आगमनसँगै डोमका घर आँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको विश्वासपूर्ण कुरा बताउँदै मनरा नगरपालिकाका ५० वर्षीय शङ्कर डोमले आफुहरु सोही कारण दिनरात व्रतालुका निम्ति बाँसका भाँडा बनाउने गरेको सुनाए ।

त्यस्तै, जिल्ला सदरमुकाम जलेश्वरका ईन्दल डोमले डालो, नाङ्गलो र टालुटपरी बेचेर कात्तिकभरीमा वर्षभरिकै सबै कर्जा ऋण चुक्ता गरेर आउने गरेको बताए। त्यसैगरी, जिल्लाको एकडारा गाउँपालिकाका महिन्दर डोमले घरका बालकदेखि बुढासम्मले डालो नाङ्गलो बेचेर प्रतिव्यक्ति रु २० देखि ३० हजार र प्रत्येक परिवारले रु दुई÷तीन लाखसम्म आम्दानी गर्ने गरेको जानकारी दिए ।

अहिले गाउँ–गाउँमा डोम जातीका प्रत्येक घरमा बाँस र बेंतको थुप्रो राखिएको छ। डोम परिवारका सबै बाँस र बेंतका चोयाबाट सामग्री बनाउन व्यस्त देखिन्छन्। छठपर्व मनाउने व्यक्तिको सङ्ख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुडा पुर्याउन डोम जातिलाई सकस भएको छ भने डोम परिवारलाई ती सामग्री बनाउन अहिलेदेखि भ्याइनभ्याइ छ । रासस

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments