दसैं तिहारमा च्याङग्रा बेचेर मुस्ताङमा ३५ करोड भित्रियो

च्याङग्रा

म्याग्दी : मुस्ताङबाट यसपालीको दसैं तिहारमा रु .३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ ।

सरदर प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले ३५ करोड रुपैया भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

केन्द्रका प्रमुख दण्डपाणी सापकोटाले दसंैमा सात हजार र तिहारका लागि तीन हजार वटा च्याङग्रा निकासी भएको जानकारी दिनुभयो ।

“स्वास्थ्य परिक्षण गरेर निकासी गरेका आधारमा करिब दश हजार च्याङग्रा बाहिरिएका छन्”, उहाँले भन्नुभयो “कृषकले गोठबाटै प्रतिगोटा रु। ३५ हजारका दरले च्याङग्रा बेचेका छन् ।” तिब्बतबाट भेडाच्याङ्ग्रा नआएपछि बिगतको तुलनामा झण्डै आधा सङ्ख्यामा भेडाच्याङग्रा निकासी भएको हो ।

अघिल्ला वर्षहरुमा २० देखि २५ हजारको सङ्ख्यामा भेडाच्याङग्रा निकासी हुँदै आएको थियो । निकासी भएका अधिकांश भेडाच्याङ्ग्रा मुस्ताङकै हुन् । व्यापारीहरुले घटाएर बिवरण दिने भएकाले अभिलेख राख्न समस्या भएको केन्द्रका प्रमुख शर्माले बताउनुभयो ।

पशु चिकित्सकहरुबाट स्वास्थ्य परिक्षण गराउँदा प्रतिगोटा रु १५ शूल्क तिर्नुपर्ने हुन्छ । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङले थासाङ गाउँपालिका, बङ्गुर जोन र धौलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकहरुसँग समन्वय गरेर भेडाच्याङ्ग्राको स्वास्थ्य परिक्षण गर्ने प्रवन्ध मिलाएको थियो ।

कार्यालयका अनुसार, यस वर्ष मुस्ताङबाट ठूलो सङ्ख्यामा च्याङग्रा र थोरै सङ्ख्यामा भेडा निकासी भएको छ ।

यो वर्ष तिब्बतबाट भेडाच्याङग्रा आयात नभएको र मुस्ताङका घुम्ती गोठ र खोरपालेहरुले उत्पादन गरेका भेडा च्याङग्राले माग नधान्ने भएपछि कृषक र बीचका व्यापारीहरुले मूल्य बढाएका छन् ।

गत वर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा ५ देखि १० हजारसम्म मूल्य बढेको व्यापारीहरुले बताएका छन् । जोमसोम पुगेर २ सय च्याङ्ग्रा खरिद गरेका काठमाडौका प्रदिप बस्नेतले अघिल्लो वर्षको तुलनामा प्रतिगोटा रु। पाँच देखि १० हजारसम्म बढी तिर्नुपरेको बताउनुभयो ।

‘‘अघिल्लो वर्ष प्रतिगोटा २५ हजारसम्ममा खरिद गथ्र्यौ, यो वर्ष ३५ हजार सम्म परेको छ”, उहाँले भन्नुभयो “खोरमै धेरै मूल्य तिर्नुपर्दा बजारमा च्याङग्रा बेच्न गाहे भयो ।” मुस्ताङको लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङ लगायतका स्थानका किसानले पालेका च्याङग्रा निकासी भएको हो ।

म्याग्दी, पर्वत, बागलुङ, कास्की, बुटवल लगायतका क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारीले भेडाच्याङ्ग्राहरु बजारमा ल्याएका थिए ।

उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विषेश गरी लेकाली जडिबुटीहरु खाने भएकाले दसैं तिहार जस्ता पर्वहरुमा पोसिलो मासुको रुपमा मुस्ताङका भेडाच्याङ्ग्राको माग बढी हुने गर्दछ । च्याङग्रालाई मासु खानका लागि योग्य बनाउन चार देखि पाँच वर्षसम्म पाल्नुपर्छ ।

मुस्ताङमा च्याङग्रापालनको प्रर्वद्धन गर्न प्रदेश सरकारले स्रोत केन्द्र र फार्म स्थापनाका लागि अनुदानको ब्यवस्था मिलाएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शर्माले बताउनुभयो । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?