ताप्लेजुङका किसानलाई अलैँची घरमा भित्र्याउने चटारो

अलैँची

फुङ्लिङ: ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका राजकुमार राई तिहारका बेला पनि फुर्सद छैन। हिजोआज उनी अलैँची टिप्न र सुकाउनमै व्यस्त छन्। लगाइएको अलैँची पाकेपछि असोज दोस्रो सातादेखि राईको व्यस्तता बढेको हो। उनले वार्षिक करिब नौ मन अलैँची उत्पादन गर्दै आएका छन् ।

फक्ताङलुङ गाउँपालिका–६ फेम्बुका ईन्द्र लिम्बूलाई राईकै जस्तो बगानमा लगाइएको अलैँची टिप्न र सुकाउन भ्याइनभ्याई छ। पाकेको अलैँची घरमा भित्रयाउन, छोडाउने र भट्टीमा हालेर सुकाउनु नै लिम्बू दिनचर्या बनेको छ। उनले वर्षमा करिब १३ मनसम्म अलैँची बिक्री गर्दै आएका छन् ।

तिहारको बेला ताप्लेजुङका किसानलाई अलैँची घरमा भित्र्याउन चटारो छ। अलैँची पाक्ने याम सुरुभएसँगै यहाँका किसानको व्यस्तता बढेको छ। बेँसीमा लगाइएको अलैँची चाँडो पाकेपनि लेकाली क्षेत्रको पाक्ने र घरमा भित्र्याउने काम भने मङ्रि अन्तिम सातासम्म नै लाग्छ। सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीनका कमल राई उच्च पहाडी भेगमा लगाइएको अलैँची भदौदेखि टिप्न थाल्ने बताउँछन् ।

“बेँसीमा प्रायः भदौ र असोजभित्र अलैँची टिप्ने र थन्क्याउने काम सकिन्छ। लेकाली क्षेत्रमा कात्तिकदेखि मङ्सिरसम्म अलैँची टिप्न चटारो हुन्छ”, राईले भने। केही वर्षयता अलैँचीको भाउ निरन्तर ओरालो लागेको छ। तर पनि यसखेतीप्रति किसानको उत्साह घटेको छैन। किसानले बर्सेनि अलैँची खेतीको क्षेत्र विस्तार गरिरहेका छन्। मसला, जडीबुटी र औषधिकारुपमा प्रयोग गरिने अलैँची खेती जिल्लाको ६१ वडामा गरिँदै आएको छ। अलैँची खेतीबाटै किसानको आर्थिक अवस्था बलियो भएको मिक्वाखोला गाउँपालिका–६ का देउप्रसाद लिम्बूले बताए ।

उनले भने, “भूगोल अनुसारको जातको अलैँची लगाउन सके आम्दानी मनग्य गर्न सकिने सम्भावना छ।” कम मेहनतले अन्य बालीको तुलनामा बढी आम्दानी लिन सकिने भएकाले पछिल्लो समय किसान अलैँची खेतीतर्फ आकर्षित हुने गरेका लिम्बू बताउँछन्। अलैँची बिक्री गरी बर्सेनी जिल्लामा करोडौँ रकम भित्रिने गरेको छ। अलैँचीको दाना र बेर्ना बिक्रीबाट किसानको आर्थिक अवस्थामा सुधार आएको छ। कतिपयले अलैँची बिक्रीको आम्दानीले सहर बजारमा घरजग्गा खरिद गरेका छन्। धान उत्पादन हुने उर्वर सिमसार खेतमा समेत किसानले अलैँची लगाउन थालेका छन् ।

थोरै लगानीमा छिटो र बढी आम्दानी लिन सकिने भएकाले किसान अलैँची खेतीतर्फ आकर्षित हुँदै गएका छन्। भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा खलैँची उत्पादन गरिँदै आएको छ। किसानमा अलैँची खेती गर्ने विधि, बेर्ना रोप्ने, गोडमेल गर्ने, टिप्ने, सुकाउने र भण्डारण गर्ने उपयुक्त विधिको ज्ञानको भने अभाव छ ।

अलैँची टिप्ने मजदुरको समेत अभाव छ। प्रायः सबै गाउँलेको अलैंची बगान छ। आफ्नो बगानमा आफैंले टिप्न सकिँदैन। समयमै टिप्न नसक्दा जंगली जनावरले पाकेको फल खाइदिने समस्या छ। त्यसैले समयमै टिपेर भित्र्याउनु पर्छ। खेताला पाउन छोडेपछि टिप्न समस्या भएको फक्ताङलुङ गाउँपालिका–५ का किसानकुमार राई बताउँछन् ।

“खेताला पाउनै गाह्रो छ। गाउँभरि पैसा बोकेर जाँदा पनि खेताला खोज्दा पाइँदैन। सबैलाई आफ्नै बगानमा टिप्न भ्याइनभ्याई छ”,उनले भने। युवा वैदेशिक रोजगारीमा गएकाले पनि खेताला पाउन मुस्किल भएको सिदिङवा गाउँपालिका–४ की अनिता लिम्बुले बताइन्। केही वर्ष अघिसम्म सीमित क्षेत्रमा मात्र अलैँची खेती गरिन्थ्यो। पछिल्लो समय अलैँचीको बिक्री र मूल्य बढ्दै गएपछि खेती विस्तार हुन थालेको हो। अलैँचीको बजार मूल्य रु एक लाख २० हजारसम्म पुगेको छ। धान, मकै, कोदोलगायत खेती हुने जमिनमा हाल किसानले अलैँची खेती विस्तार गर्न थालेका छन् ।

वैदेशिक रोजगारीमा गएका युवा गाउँ फर्किएपछि अलैँची खेती गर्न थालेका छन्। जिल्लामा अलैँची खेती विस्तार हुन थालेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख विनय महर्जनले जानकारी दिए। जिल्लामा करिब चार हजार तीन सय हेक्टरमा अलैँची खेती गरिँदै आएको छ। गत वर्ष दुई हजार ९६० मेट्रिक टन अलैँची उत्पादन भएको थियो । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?