राष्ट्रिय कफी दिवस : कफीको मूल्य बढ्यो, निर्यात उत्साहजनक

काठमाडौं: कोभिड संकटको बेला पनि नेपालबाट कफी निर्यात उत्साहजनक भएको छ। भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६–०७७ मा ५ करोड ७७ लाख रुपैयाँ बराबरको कफी निर्यात भएकोमा आव २०७७–०७८ मा ९ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात भएको छ।

चिया तथा कफी विकास बोर्डले मंंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले कोभिडको समयमा पनि कफी निर्यातमा देखिएको बढोत्तरीले आफूहरु उत्साहित भएको बताए।

भट्टराईले भने,‘कफीको उत्पादन र उत्पादकत्व अत्यन्तै न्यून भए पनि विगत डेढ वर्षको अवस्था हेर्दा निर्यात भने बढेको छ। नेपालले कफीमा करिब दोब्बर निर्यात गरेको देखिन्छ। यो इन्डिकेटरले के थाहा हुन्छ भने कफी क्षेत्रको विकास र उत्पादनमा लाग्ने हो भने आर्थिक समृद्धिको एउटा कोशेढुंगा बन्न सक्छ।’

बोर्डले आगामी आर्थिक वर्षदेखि ‘युवा लक्षित कफी विस्तार’ कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि गरेको छ। बोर्डका कार्यकारी निर्देशक भट्टराईले युवाहरुलाई रोजगारीको अवसर दिन र मुलुकको समृद्धिमा योगदान पुर्याउन पनि आगामी आर्थिक वर्षबाट सो कार्यक्रम सञ्चालन गर्ने योजना तय गरिएको बताए।

बोर्डले त्यसका लागि प्रदेश २ बाहेक अन्य ६ वटा प्रदेशहरुमा कफी खेतीको विस्तारका लागि आवश्यक नीतिगत योजना तय गरिएको पनि जनाएको छ। पत्रकार सम्मेलनमा मंसिर १ गतेदेखि लागू हुनेगरी कफीको मूल्य पनि सार्वजनिक गरिएको छ। बोर्डका अनुसार किसानको लागत मूल्य र सरोकारवालाहरुको सुझावलाई आधार बनाएर यस वर्ष पनि कफीको मूल्य निर्धारण गरिएको हो। जस अनुसार फ्रेस चेरी ग्रेड ए कच्चा कफीको मूल्य प्रतिकेजी ९० रुपैयाँ तोकिएको छ।

त्यसैगरी ग्रेड बि को सो कफीको प्रतिकेजी ८० रुपैयाँ मूल्य तोकिएको छ। पार्चमेन्ट ग्रेड ए कच्चा कफीको मूल्य प्रतिकेजी ४५० रुपैयाँ र ग्रेड बि सो सोही कफीको मूल्य ३९७ निर्धारण गरिएको छ। बोर्डले ड्राइ चेरी ग्रेड ए कच्चा कफीको प्रतिकेजी मूल्य १४८ रुपैयाँ मूल्य तोकेको छ भने बी ग्रेडको सोही कफीको प्रतिकेजी मूल्य ९५ रुपैयाँ निर्धारण गरेको छ।

बोर्डले उत्पादन क्षेत्र र उत्पादकत्व बढाएर नेपालमा पनि माग अनुसार कफी आपूर्ति गर्ने योजना अघि सारेको छ। कार्यकारी निर्देशक भट्टराईले नेपाली कफीको आन्तरिक तथा बाह्य बजारमा ठूलो डिमान्ड रहेको उल्लेख गर्दै सोही अनुसार यस क्षेत्रको विकासमा लागिपर्ने प्रतिवद्धता समेत जनाए। नेपालमा हरेक वर्ष मंसिर १ गते कफी दिवस मनाउने गरिन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?