कोरोनाका कारण कृषि तथा पशुपक्षी मेला स्थगित

दमौली : तनहुँको व्यास नगरपालिकाले माघ ३० गतेदेखि आयोजना गर्न लागेको तनहुँ कृषि तथा पशुपक्षी मेला स्थगन भएको छ । नगरपालिकाले तीन दिनसम्म गर्न लागेको मेला कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण स्थगन भएको हो ।

हाल कोभिड–१९ फैलन गई नेपाल सरकारले २५ जनाभन्दा बढीको सङ्ख्यामा भीडभाड नगर्नु भनी सार्वजनिक सूचनासमेत जारी गरेकाले अर्को सूचना नभएसम्मका लागि मेला स्थगन गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । “मेलामा अत्यधिक भीड हुने अवस्थालाई मध्यनजर गरी अहिले उक्त मेला गर्न उपयुक्त ठानिएन”, उहाँले भन्नुभयो ।

आठौँ तनहुँ महोत्सव स्थगित

कोरोना त्रासका कारण माघ १९ गतेदेखि सञ्चालन हुने आठौँ तनहुँ महोत्सव स्थगन गरिएको छ । कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि तनहुँ उद्योग वाणिज्य सङ्घले अर्को सूचना नभएसम्मका लागि महोत्सव स्थगन गर्ने निर्णय गरेको हो ।

नेपाल, भारतलगायत विश्वव्यापीरूपमा तीव्रगतिले फैलिँदै गएको कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण महोत्सव स्थगन गर्ने निर्णय गरिएको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । सरकारले लागू गरेको स्वास्थ्य मापदण्डको पूर्णपालना गर्न समेत आम उद्योगी, व्यवसायीलाई सङ्घले आग्रह गरेको छ । सरकारले देशभर मेला, महोत्सव रोक्न निर्देशन दिनुका साथै २५ जनाभन्दा बढी जमघट हुने कार्यक्रम रोक्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments