कृषिको समग्र विकासका लागि थुप्रै ठाउँमा नीतिगत सुधारको आवश्यकता : मन्त्री यादव

काठमाडौँ: कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले कृषि अनुसन्धान तथा प्रसारलाई किसानमैत्री बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय किसान आयोगको पाँचौँ स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री यादवले अर्थतन्त्रको मेरुदण्ड कृषि रहेको हुनाले त्यसको प्रवद्र्धन, संवद्र्धन गर्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र विविधीकरण गरी किसानको हकहितमा सदुपयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो । कृषिसम्बन्धी ऐन, कानुन, नीति तथा योजना तर्जुमा गर्नुका साथै त्यसको आधारमा कृषिको दिगो विकासमा जोड दिनुपर्ने विचार व्यक्त गर्दै मन्त्री यादवले कृषिमा आत्मनिर्भर बन्न कृषिको समग्र क्षेत्रलाई सुधार गर्नुपर्ने आवश्यक रहेको धारणा राख्नुभयो ।

आयोगले आयोजना गरेको कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्नुहुँदै उहाँले कृषि क्षेत्र सोचजस्तो नफस्टाउनुमा बजेट मुख्य रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “अर्थतन्त्रको मेरुदण्ड कृषिलाई मानिएको छ तर सबभन्दा कम बजेट कृषिमै छ । बजेटको अभावले पनि सोचेजस्तो कार्य गर्न सकिएको छैन । ” कृषि मन्त्रालयका (पशुपन्छीतर्फका) सचिव निरु दाहालले पनि किसान आयोगलाई आफ्नो उद्देश्यअनुसार काम गर्न सुझाव दिनुभयो । उहाँले कृषिको समग्र विकासका लागि थुप्रै ठाउँमा नीतिगत सुधारको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा अखिल किसान महासङ्घका उपाध्यक्ष कमलराज श्रेष्ठले पनि किसान आयोगले किसानको भाषा बोल्नुपर्ने बताउँदै आउने दिनमा कृषि कस्तो हुनुपर्छ, किसानको अवस्था कसरी सुधार हुन्छ, त्यसबारे आयोगले खाका बनाएर अगाडि बढ्नपर्छ भन्नुभयो । किसान आयोगका अध्यक्ष डा. प्रेमप्रसाद दङ्गालले कृषिको समग्र विकासका लागि आयोग क्रियाशील रहेको बताउनुभयो । आयोगले सरकारलाई दिने सुझाव सोचेकोजस्तो कार्यान्वयनमा नआएको चर्चा गर्दै उहाँले आफूहरूले कृषिको समस्याबारे कृषि मन्त्रालयलाई जानकारी गराउँदै आएको बताउनुभयो ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments