तत्काल दूधको मूल्य बढाउन किसानको माग : नगरिए आन्दोलन गर्ने चेतावनी

दूधमा अनुदान

चितवन: चितवनका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरूले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

चितवन दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले आइतबार यहाँ पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो । दूधको मूल्यमा प्रतिलिटर १५ देखि २० रुपैयाँसम्म बढाउनुपर्ने उनीहरूको माग छ ।

संघका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले यही माघ १ गतेदेखि मूल्य बढ्छ भने पनि अहिलेसम्म नबढेकाले आन्दोलनको तयारीमा लागेको बताए । सरकारले एक लिटरमा १० रुपैयाँ मूल्य बढाएर किसानलाई सात र डेरी उद्योगीलाई तीन रुपैयाँ दिने तयारी गरेको बताइएको छ ।

उनका अनुसार हाल किसानले दूध प्रतिलिटरको सरदर ५२ रुपैयाँ ५० पैसा मूल्य पाउने गरेको छ । पशुलाई खुवाउने आहारको मूल्य अत्यधिक वृद्धि भएकाले यो मूल्यले लागत नउठ्ने उनले बताए ।

अध्यक्ष न्यौपानेले भने, “दाना, चोक्कर, पराल र औषधिको मूल्य अत्यधिक बढेकाले अहिले उत्पादन लागत नै प्रतिलिटर ६३ रुपैयाँ किसानको पर्ने गरेको छ । त्यसैले किसानलाई लाभ पुग्ने गरी मूल्य बढाउनुपर्छ ।” सरकारले तीन वर्षदेखि दूधको मूल्य बढाएको छैन ।

हाल जिल्लामा ६३ प्रतिशत दुग्ध उत्पादक किसान छन् । यसबाट दैनिक दुई लाख ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । ४३ प्रतिशत दूध बाहिरी जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, कास्की र मकवानपुरमा जाने संघले जनाएको छ ।

संघले जारी गरेको विज्ञप्तिमा पशुको उपभोग्य वस्तुमा १० देखि १५ प्रतिशत वृद्धि भएको जनाइएको छ । रासस

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments