उखुसँगै बढ्यो चिनीको मूल्य: उद्योगीले चिनीमा प्रतिकेजी १० रुपियाँसम्म बढाए

विराटनगर:

किसानले उत्पादन गरेको उखुको मूल्य बढेको भन्दै उद्योगीले चिनीको मूल्य बढाएका छन् । चालू सिजनका लागि उखुको मूल्य प्रतिक्विन्टल बढेर ५९९ रुपियाँ पुगेपछि उद्योगीहरूले चिनीको मूल्य पनि ७६ रुपियाँ प्रतिकिलोबाट बढाएर ८६ रुपियाँ पु-याएका हुन् । गत सिजनमा उखुको मूल्य प्रतिक्विन्टल ५४४ रुपियाँ ३३ पैसा कायम गरिएको थियो । एक क्विन्टल उखुबाट नौ किलोसम्म चिनी उत्पादन हुन सक्ने उद्यागीहरू बताउँछन् ।

उखु क्विन्टलमा ५५ रुपियाँ मूल्य बढेको भन्दै उद्योगीले चिनीमा प्रतिकेजी १० रुपियाँसम्म बढाएका हुन् । उत्पादकबाट चिनी खरिद गरेर कारोबार गर्दै आएका विराटनगरका व्यापारी जीवन रिजालले सुनसरी–मोरङ कोरिडोरको इस्टर्न सुगरले ७६ रुपियाँबाट ८४.५ रुपियाँ प्रतिकेजी मूल्य बनाएको जानकारी दिनुभयो । यसैगरी एभरेस्टले ८६ र इन्दुशङ्करले ८४.५ रुपियाँ पु-याएका छन् ।

चालू सिजनमा नेपालमा करिब एक लाख ६० हजार टन चिनी उत्पादन हुने अनुमान गरिएको छ । गत वर्ष एक लाख ३० हजार टन चिनी उत्पादन भएको थियो । उखुसँगै चिनीको मूल्य वृद्धि भए पनि भारतबाट तस्करी भएर आउने चिनीले बजार ओगट्ने गरेको व्यापारी रिजालले जानकारी दिनुभयो । उखुको मूल्य बढेको आधारमा उद्योगीले मूल्य वृद्धि गरे पनि त्यो भन्दा कम मूल्यमा भारतबाट तस्करी भएर आउने चिनी बजारमा पाइन्छ ।

सिजनमा मासिक एक सय गाडी चिनी बिक्री गर्दै आउनुभएका रिजालले अहिले तस्करीको चिनीले नेपाली उत्पादनलाई असजिलो बनाइरहेको बताउनुभयो । माघ लागेपछि चिनी उद्योगहरूले मूल्य निर्धारण गर्दै आएका छन् । नेपालका उद्योगमध्ये महेन्द्रनगरको भागेश्वर सुगर मिलले सबैभन्दा सस्तो ८२.७५ रुपियाँ प्रतिकिलो चिनीको मूल्य तोकेको रिजालले बताउनुभयो । महेन्द्रनगरबाट विराटनगरसम्म ढुवानी गरेर ल्याउँदा मूल्य उतिनै पुग्छ ।

उद्योगमा नै मूल्य बढेपछि खुद्रा मूल्य ९५ रुपियाँसम्म माथि पुग्ने अनुमान गरिएको छ । उद्योगबाट खरिद गरेको चिनी थोक बिक्रेताले ८८ रुपियाँसम्म बिक्री गर्दछन् । रिजालका अनुसार खुद्रा बिक्रेताले उपभोक्तालाई ९५ रुपियाँभन्दा बढी लिनेछन् ।

विराटनगरका चिनी स्टकिस्ट रिजालले भारतका चिनी उद्योगले ५४ रुपियाँ ४० पैसा प्रतिकिलो चिनीको मूल्य तोकेका छन् । सरकारको अनुदान पाएका कारण भारतमा चिनी सस्तोमा छ वैधानिक रूपमा चिनी आयात गर्दा ४० प्रतिशत भन्सार र भ्याट १३ प्रतिशत बुझाउनु पर्ने हुन्छ । यसरी आयात गर्दा एक केजी चिनीमा ३० रुपियाँ खर्च जोडिँदा आयातीत चिनीको मूल्य पनि करिब ९० रुपियाँ नै पुग्ने रिजालको दाबी छ । भारतसँग सीमा जोडिएका जिल्लामा दैनिक एक हजार टनसम्म चिनी अवैध रूपमा भित्रने उहाँको दाबी छ । यदि भन्सार दस्तुर सरकारले घटाएमा वैधानिक बाटो भएर चिनी आयात हुने व्यापारीको भनाइ छ । यो समाचार आजको गोरखापत्र अनलाइनमा छ ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments