मह उत्पादनमा भारी गिरावट : मौरी पालक कृषक मारमा

सल्यान : सल्यानमा ३३ प्रतिशतले महको उत्पादन घटेको छ । भारी मात्रामा मह उत्पादनमा गिरावट आएपछि यहाँका मौरी पालक कृषक मारमा परेका छन् ।

अघिल्लो वर्षभन्दा यस वर्ष ३३ प्रतिशतले मह उत्पादनमा गिरावट आएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

उत्पादनको क्षेत्रफलमा वृद्धि आए पनि चिउरी फुल्ने समयमा लगातार वर्षात हुँदा उत्पादनमा कमी आएको कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “गत वर्ष १२ दशमलव १ मेट्रिकटन मह उत्पादन भएको थियो तर यो वर्ष ३३ प्रतिशतले गिरावट आएको छ ।”

गत असोज – कात्तिक महिनामा धेरै पानी परेपछि चिउरी फूलको रस र अन्य फूलको रस बगाउँदा मह उत्पादन घटेको कृषक लोकेन्द्र वलीले बताउनुभयो । “मौरीलाई चरन क्षेत्रको अभाव, जलवायु परिवर्तन, निरन्तर वर्षा लगायतका कारण मह उत्पादन घट्दै गएको छ ।” उहाँले भन्नुभयो ।

विगतका वर्षहरूमा ८ देखि १० क्विन्टलसम्म मह बिक्री गरेका वलीले यो वर्ष मुस्किलले २ क्विन्टल जति मात्र भएको उहाँले बताउनुभयो । “बेमौसमी वर्षातले मौरी क्षेत्रका चिउरी र अन्य सिजनका फूलहरूमा पानी जम्मा भएर सबै बगाएर लग्यो । जसले आहारा नपाएर पछि मौरीले के मह देओस् ।”, उहाँले भन्नुभयो ।

जिल्लामा २ हजार ३ सय ७० हेक्टर क्षेत्रफलमा मौरी पालन हुँदै आइरहेको छ । कृषि विकास कार्यालयले कालिमाटी गाउँपालिकालाई मौरी ब्लक क्षेत्रका रुपमा विकास गरेको छ । किसानलाई अनुदान तथा प्राविधिक सहयोग गर्दै आइरहेता पनि उत्पादन भने घट्दै गइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?