तीन सय रोपनीमा कागती खेती

बागलुङ: बागलुङ नगरपालिका–१२, अमलाचौरको सहेँला फाँट कृषकको मेहनत र परिश्रमले सिँगारिएको छ । बागलुङ नगरपालिका–१४, अर्माहका ४३ जना किसानले सामूहिक रूपमा तीन वर्षअघि लगाइएका कागतीका बिरुवा फुल्न थालेका छन् । चासो कृषक समूहका सदस्य र कर्मचारीलाई बिरुवाको गोडमेल, सिँचाइ र मल दिनका लागि भ्याइनभ्याइ छ ।

हरेक वर्ष सयौँ मुरी धान फल्ने खेतमा किसान कागतीबाट कृषिमा प्रगति खोजिरहेका छन् । २० लाख रुपियाँ लगानीबाट सुरु भएको कागतीको व्यावसायिक खेतीमा ६० लाख रुपियाँ लगानी भइसकेको छ । ३०० रोपनीभन्दा धेरै जमिनमा चार हजार बिरुवा हुर्किरहेका छन् ।

तीन वर्ष समय खर्चेर लगाइएका बिरुवामध्ये एकतिहाइ बिरुवा फल लाग्ने अवस्थामा छन्, अर्को एकतिहाइ दुईवर्षे र कोही बिरुवा साना छन् । अनुदान र सहयोगका लागि सरकारी निकाय बगैँचामै पुग्न थालेका छन् भने देखासिकी गर्न जिल्लाभित्र र बाहिरबाट किसान तथा प्राविधिक आउने गरेको समूहका अध्यक्ष केशवप्रसाद सुवेदीको भनाइ छ ।

चितवन, मकवानपुर र कास्की र बागलुङ जिल्लाकै विभिन्न ठाउँबाट हरेक महिना कृषि समूह र कृषि प्राविधिक सहेँलाको फाँट पुग्ने गरेका अध्यक्ष सुवेदीले बताउनुभयो । सरकारी अनुदानमा आशा नराखी आफैँले लगानी गरेर व्यावसायिक खेती थालेका किसानले पछिल्लो पटक सरकारी निकायको साथ पाउन थालेका छन् ।

एक लाख रुपियाँ बिरुवाको ढुवानीका लागि अनुदान दिएको बागलुङ नगरपालिकाले तीन लाख खर्चेर फार्मसम्म पुग्ने सडक बनाइदिएको छ । गत आर्थिक वर्ष कृषि ज्ञान केन्द्र, बागलुङले कृषि उपकरण, मलखाद, पोखरी निर्माण र औजार खरिदलगायतका लागि १० लाख रुपियाँ अनुदान दिएको थियो ।

हरेक वर्ष चार करोड रुपियाँको कागती उत्पादन गर्ने लक्ष्यका साथ व्यावसायिक खेती थालेको र फल्न थालेको एक वर्षमा नै लगानी उठाएर मुनाफा कमाउने सुवेदीले बताउनुभयो । समूहमा आबद्ध किसानलाई वार्षिक प्रतिरोपनी पाँच हजार रुपियाँ भाडा दिने गरिएको छ। गोरखापत्र अनलाइन

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments